महोत्तरीमा स्यालो ट्युबवेलका लागि २५ सय आवेदन

सात दिनमा मात्रै २५ सयभन्दा बढी किसानको आवेदन परेपछि मन्त्रालयमा बजेट बढाउन अनुरोध गरिएको छ ।

श्रावण २०, २०८२

सन्तोष सिंह

2500 applications for shallow tube wells in Mahottari

काठमाडौँ — कृषि ज्ञान केन्द्र महोत्तरीमा स्यालो ट्युबवेलका लागि २५ सयभन्दा बढी किसानले आवेदन दर्ता गराएका छन् । मधेश प्रदेश सरकारले स्वीकृत गरेको वार्षिक कार्यक्रमलाई सुक्खा राहतमा परिणत गरी १ करोड ६५ लाख बजेटको स्यालो ट्युबवेल जडानका लागि माग गरेको आवेदनमा २५ यसभन्दा बढी आवेदन परेको हो ।

कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख देवानन्द राय यादवका अनुसार सात दिनमा २५ सयभन्दा बढी किसानले सिँचाइ गर्ने स्यालो ट्युबवेलका लागि आवेदन दर्ता गराएका हुन् । जिल्लाभरका लागि ७० लाख र सोनमा गाउँपालिका, सम्सी गाउँपालिका, रामगोपालपुर नगरपालिका, मनराशिसवा नगरपालिका र औरही नगरपालिकामा १५/१५ लाख तथा जलेश्वर नगरपालिकामा २० लाख बजेट स्यालो ट्युबवेलका लागि प्रदेश सरकारले विनियोजन गरेको छ ।

'खडेरीले किसान समस्यामा परेको बेला ट्युबवेल वितरण गर्न कार्यालयमा बजेट न्युन र माग उच्च छ,' प्रमुख यादवले भने, ‘प्रदेश सरकारले विनियोजन गरेको बजेटमा ७५ देखि ८० वटासम्म मात्रै स्यालो ट्युबवेल जडान गर्न सकिन्छ ।' अहिले फाराम भर्न उपभोक्ताको भिड लागेको छ । स्यालो ट्युबवेलमा माग धेरै भएपछि मन्त्रालयमा जानकारी गराएको र बजेट बढाउन आग्रह गरिएको प्रमुख यादवले बताए । 

सन्तोष सिंह सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully