लुटपाट र हत्याका आरोपी समातिए

सप्तरी प्रहरीले गोप्य सूचनाका आधारमा डाक्नेश्वरीबाट जघन्य अपराधमा संलग्नताको आरोपमा एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

श्रावण १९, २०८२

विद्यानन्द राम

The accused of robbery and murder were caught

राजविराज — सप्तरी प्रहरीले आइतबार राति  लुटपाट र हत्या घटनाका आरोपीलाई नियन्त्रणमा लिएको छ । प्रहरीलाई देख्नासाथ भाग्न लागेका जिल्लाको डाक्नेश्वरी नगरपालिका–८ औरहीका २८ वर्षीय दीपक मरिकलाई गोली चलाएर नियन्त्रणमा लिइएको हो । 

मरिकलाई नियन्त्रणमा लिन चार राउन्ड हवाई फायर गरिएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए । ‘जघन्य अपराधका घटनामा संलग्नता देखिएका उनलाई गोप्य सूचनाका आधारमा साढे १० बजे राति डाक्नेश्वरी नगरपालिका–५ बाट नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘लुटपाट र हत्या घटनामा पनि उनको संलग्नता देखिन्छ, हामी आजै पत्रकार सम्मेलनमार्फत थप स्पष्ट पार्छौं ।’ 

गत जेठ २२ गते राति जिल्लाको सुरुङ्गा नगरपालिका–८ मल्हनमा टोलमा अज्ञात समूहले लुटपाटपछि स्थानीय ५० वर्षीय कान्तलाल चौधरी र उनका भाइ ४० वर्षीय रामकान्त चौधरीमाथि धारिलो हतियार प्रहार गरेका थिए ।

हतियार प्रहारबाट कान्तलालको घटनास्थलमै मृत्यु भएको थियो भने ती समूहले ५०/६० हजार नगद, ५ तोला सुन, २ किलो चाँदीसहितका मालसमान लुटेर फरार भएका थिए ।

घटनापछि प्रहरीले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट झिकाइएको जंगे (तालिम प्राप्त कुकुर)को सहायताले सूक्ष्म अनुसन्धान अघि बढाएको थियो । सो घटनामा अन्य केही व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully