रौतहटको बागमती नदीमा बेपत्ता भारतीय नागरिकको शव फेला

साउन १७ गते चन्द्रपुर–१ नुनथरस्थित बागमती नदीमा बेपत्ता भएका भारतीय नागरिकको शव दुई दिन पछि आइतबार राति नहरमा फेला परेको हो ।

श्रावण १९, २०८२

शिव पुरी

Body of missing Indian citizen found in Bagmati river in Rautahat

काठमाडौँ — रौतहटको गुजरा नगरपालिका–७ पल्टुवास्थित पूर्व–पश्चिम बाग्मती नहरमा सशस्त्र प्रहरीले भारतीय नागरिकको शव फेला पारेको छ ।

साउन १७ गते चन्द्रपुर–१ नुनथरस्थित बागमती नदीमा बेपत्ता भएका भारतीय नागरिकको शव दुई दिन पछि आइतबार राति नहरमा फेला परेको हो ।  

भारतको बिहार राज्य जिल्ला खगडिया ग्राम पछौरा–२ का ३० वर्षीय रोहितकुमार सिंहको शव फेला परेको सशस्त्र प्रहरी बल रौतहटका एसपी सन्तोषकुमार बस्नेतले जानकारी दिए । नुनथरस्थित झोलुङ्गे पुलको तल मादक पदार्थ सेवन गरी बागमती नदीमा नुहाउन जाने क्रममा अचानक नदीले बगाई सिंह बेपत्ता भएका थिए ।

मृतकको शव भाइ शत्रुहन कुमारले बुझेर लगेको प्रहरीले जनायो । साउन १० गते नुनथरस्थित बागमती नदीको डिलबाट हाम फाल्न खोज्ने भारतको जिल्ला सीतामढी भुटीका ४५ वर्षीय रामविर महतोको जीवितै उद्धार गरेको सशस्त्र प्रहरीका एसपी बस्नेतले बताए । 

शनिबार साँझ वृन्दावन नगरपालिका–१ रामनगरस्थित पूर्व–पश्चिम बागमती नहरमा चन्द्रपुर–९ चेतनगर विर्ताका सरोज साहकी श्रीमती २५ वर्षीया रुमा देवीको शव फेला परेको प्रहरीले जनायो । नहरमा डुबेको अवस्थामा शव फेला परेको थियो । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully