वर्षाले लागाइसकेको धानबाली जोगाउने मात्र नभई धान रोप्नै नसकेका किसानलाई ठूलो राहत मिलेको मिर्चैयाका विष्णुप्रसाद यादवले बताए ।
What you should know
सिरहा — असार र साउन धान रोप्ने महिना हो । यी दुई महिना खेतमा किसान र धान रोप्नेहरूको निकै चहलपहल हुन्छ । तर, यस वर्ष भने खेतमा चहलपहल देखिएन । कारण हो, मधेश सुक्खा र खडेरीले आक्रान्त रह्यो ।
सिँचाइको सुविधा भएका ठाउँमा किसानले जसोतसो धान रोप्न त रोपे । तर, खडेरीले रोपिएको धान पनि नष्ट हुने अवस्था भइरहँदा किसान तनावमा रहे । तर, शनिबार मध्यरातदेखि आइतबार बिहानसम्म परेको वर्षा किसानका लागि ओखती बन्न पुगेको छ ।
खडेरी र घामले डढ्नै लागेको धानमा वर्षाले हरियोपन ल्याएको छ । पानीको अभावले यसपालि साउन पनि जानै लाग्दा खेती गर्न नसकेका किसानले आइतबार दिनभर रोपाइँ गरेका छन् ।
सिरहाको गोलबजार नगरपालिका-४ निपानेका किसान रामअशिष यादव प्रत्येक वर्ष ३ देखि ४ बिघा जग्गामा धान खेती गर्छन् । तर, पानी अभावमा यसपालि आश मारिसकेका उनले आइतबार मात्रै एक बिघामा धान रोपेका छन् ।
'पहिला त असारमा धान रोपिसक्थेँ, तर यसपालि वर्षा हुने छाँटकाँट नै नदेखिएपछि आश नै मरिसकेको थियो,' उनले कान्तिपुरसित हँसिलो मुद्रामा भने, 'रातिको वर्षा हाम्रो लागि सञ्जिवनी बन्यो, आज एक बिघा रोपियो, भोलि पर्सीमा दुई/तीन बिघा भइहाल्छ ।'
उनीजस्तै धनगढीमाई नगरपालिका-१३ भर्लेनीका किसान स्वरुप महतो पनि आइतबार दिउँसो खेतमा प्रफुल्ल देखिए । धानको बीउ मिलाउँदै व्यस्त भेटिएका उनी यस क्षेत्रका अधिकांश किसानले आज मात्रै रोपाइँ गरेको बताउँछन् ।
'हाम्रोतिर जहाँ सिचाइ छ, त्यहाँ केही मात्रामा मात्रै धान रोपाइँ भएको थियो,' उनले कान्तिपुरलाई सुनाए, 'राति वर्षा भएपछि आज सबै किसानले धान रोपेका छन्, दुई/तीन दिनसम्म अब रोपाइँ चल्छ ।'
उनीहरूजस्तै सिरहाका सबैजसो स्थानका किसान आइतबार दिनभर धान रोपाइँमा व्यस्त रहे । यो वर्षाले लागाइसकेको धानवाली जोगाउनेमात्र नभई धान रोप्नै नसकेका किसानलाई ठूलो राहत दिने काम गरेको मिर्चैयाका विष्णुप्रसाद यादवले बताए ।
कृषि ज्ञान केन्द्र सिरहाका अनुसार, जिल्लामा ५४ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । जसमा गत शुक्रबारसम्म ५० प्रतिशत क्षेत्रफलमा मात्रै धान खेती भएको तथ्यांक केन्द्रको छ ।
तर, अहिलेको वर्षाले धान खेती ८० प्रतिशतमाथि पुग्ने कृषि ज्ञान केन्द्र, सिरहाका प्रमुख नरेन्द्रकुमार महासेठको अनुमान छ । 'यो वर्षाले ठूलो काम गरेको छ,' उनले भने, 'साउन महिनाभरमा ८० प्रतिशत रोपाइँ कट्छ ।'
