बालिकामाथि सामूहिक बलात्कार : विस्थापित गराइदिने धम्कीले जाहेरी नै परेन

पीडित पक्षले नियन्त्रणमा लिएर बुझाएका आरोपितलाई जाहेरी नपरेको भन्दै प्रहरीले परिवारको जिम्मा लगाएको छ । 

श्रावण १८, २०८२

विद्यानन्द राम

Gang-rape of a girl: The threat of displacement did not lead to a complaint

What you should know

राजविराज — सप्तरीको राजविराज नगरपालिका–११ मा बुधबार साँझ बलात्कृत भएकी १५ वर्षीया बालिकाको परिवार आरोपित पक्षको धम्कीका कारण जाहेरी दिनै हच्किएको छ । सामूहिक बलात्कार घटना खुलेपछि मिलापत्रका लागि बसाइएको ‘पञ्चायती’ मा पीडित परिवारले जाहेरी दिने अडान नछाडेपछि प्रलोभन देखाउन र धम्क्याउन थालिएको थियो । त्यसपछि पीडित परिवार घटनाबारे बोल्नै तर्किने गरेको छ । 

दलित समुदायकी ती बालिकालाई बुधबार राति ८ बजे घरअगाडि उभिइरहेका बेला चार जनाले उठाएर लगी सामूहिक बलात्कार गरेको परिवारजनको भनाइ थियो । बालिकालाई जबर्जस्ती लगिरहेको छिमेकीले देखेपछि तत्कालै खोजी गरिए पनि भोलिपल्ट मात्र गाउँनजिकै एक घरमा लुकाएर राखिएको अवस्थामा भेटिएको थियो । आरोपितमध्येका १९ वर्षीय किशोरलाई देख्नासाथ परिवारजनले समातेर हातपात गरेका थिए । त्यसपछि उनलाई प्रहरीको जिम्मा लगाइएको थियो । दुई दिनसम्म जाहेरी नपरेको भन्दै प्रहरीले आरोपित किशोरलाई परिवारको जिम्मामा छाडेको छ । 

जिल्ला प्रहरी कार्यालयले बिहीबार पीडित बालिकालाई समेत बोलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा कक्षमा प्रारम्भिक बयान लिएर घर फर्काएको थियो । १८ र १९ वर्षका किशोरले बलात्कार गरेको र अरू दुई जनाले सघाएको पीडित बालिकाको भनाइ थियो । 

बालिका घर फर्किएदेखि नै जाहेरी नदिन पीडक पक्षले दबाब दिँदै आएको थियो । मिलापत्रका लागि वडाध्यक्ष उदितनारायण यादव समेतको उपस्थितिमा शुक्रबार बिहान साढे ८ बजे स्थानीय स्वास्थ्य चौकीमा ‘पञ्चायती’ बोलाइएको थियो । पीडित परिवार पनि पञ्चायतीमा उपस्थित भएको थियो । 

वडाध्यक्ष यादवले भने पञ्चायतीमा गल्ती गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्ने विषय मात्रै आफूले बोलेको दाबी गरे । ‘म पञ्चायतीमा गएको होइन, मल वितरण गर्न बिहानै वडा कार्यालय पुग्दा छलफल भइरहेको देखेको हो,’ उनले भने, ‘मैले घटना मिलाउन दबाब दिएको छैन ।’

पञ्चायती एक घण्टामै बिथोलिएपछि आरोपितका परिवारजनले घरमै आएर जाहेरी नगर्न आग्रह गरेको र नमानेपछि विस्थापित गरिदिने धम्की दिन थालेको स्थानीयले जानकारी दिए । ‘जातीय आधारमा उनीहरूकै बाहुल्य छ, दुस्मनी गरिहाल्यो भने बस्न दिँदैनन्,’ जिल्ला प्रहरीछेउमै रहेको जिल्ला समन्वय समिति परिसरमा शुक्रबार साँझ ६ बजे चिन्तित अवस्थामा भेटिएका पीडितका हजुरबुवाले भने, ‘मिलापत्रका लागि पैसा लिन मानेका छैनौं । मुद्दामा जाँदा इज्जत पनि जाने र गाउँका कोही आफ्नो नरहने चिन्ता छ ।’

जिल्ला प्रहरीका सूचना अधिकारी डीएसपी जितेन्द्रकुमार बस्नेतले पीडित भनिएको परिवारबाट जाहेरी नै नआउँदा मुद्दा प्रक्रिया अघि बढाउन नसकेर आरोपितलाई परिवारको जिम्मामा छाडिएको बताए । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully