उखु उत्पादक कृषक महासंघले अनुदान कटौतीको विरोधमा महोत्तरीमा आन्दोलनको घोषणा गरेको छ, किसानले चिनी उद्योगअगाडि प्रदर्शन गर्ने योजना बनाएका छन्।
What you should know
महोत्तरी — उखुको अनुदान कटौतीको विरोधमा किसान आन्दोलित भएका छन् । चिनी उद्योग भएका जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
प्रतिक्विन्टल ७० रुपैयाँका दरले नेपाल सरकारबाट किसानले पाउँदै आएको अनुदान कटौतीको विरोधमा आन्दोलनको घोषणा गरिएको उखु उत्पादक कृषक महासंघ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवाहाले बताए ।
उखु उत्पादनमा लागत बढ्दै गएको समयमा सरकारले अनुदान कटौती गरेपछि किसान समस्यामा परेका हुन् । ‘सरकारले गत वर्षकै अनुदान किसानलाई दिएको छैन । चालु आर्थिक वर्षको बजेटमा अनुदान कटौती गरेको छ । सरकारले किसानको माग सम्बोधन गर्न आनाकानी गरेका कारण हामी आन्दोलनको तयारीमा जुटेका छौं,’ अध्यक्ष कुशवाहाले भने ।
आइतबार जिल्ला प्रशासन कार्यालय महोत्तरीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाउँदै मंगलबार चिनी उद्योगअगाडि टायर बालेर प्रदर्शन गर्ने र भदौ ८ गते काठमाडौंमा प्रदर्शन गर्ने कार्यक्रम रहेको उनले बताए ।
आर्थिक वर्ष ०८१/०८२ को उखुको अनुदान रकम प्रतिक्विन्टल ७० को दरले करिब १ अर्ब ६० करोड रुपैयाँ नेपाल सरकारले भुक्तानी नगरेको र आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सम्बोधनसमेत नगरेपछि संघर्षका कार्यक्रम घोषणा गरिएको अध्यक्ष कुशवाहाले बताए ।
नेपाल उखु उत्पादक महासंघको २०८२ साउन १२ गते सोमबार सर्लाही, हरिवनमा बसेको बैठकले उखु किसानलाई उखु खेतीमा प्रोत्साहन गर्न माग गरेको छ । उखुको उन्नत जातको बीउको अभाव, सहुलियत कर्जाको अभाव, खाद्यमल सहज ढंगले नपाइनु, उखु भुक्तानीमा ढिलाइ हुनु, उखुको उचित मूल्य नपाइनु, उखु खेतीका लागि प्राविधिक सहयोग नहुनुजस्ता समस्या रहेको महोत्तरी, गौशालाका उखु कृषक राजाराम महतोले बताए । उनका अनुसार किसानले आफ्नै बलबुतामा जसोतसो उखु खेती गरे पनि सरकारले अनुदान कटौती गरेर अन्याय गरेको छ ।
