मृतकको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगन्जमा राखिएको छ ।
पर्सा — पत्नी हत्याका आरोपित एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिराभवानी गाउँपालिका–५ शंकरसरैयाका ३२ वर्षीय जीतेन्द्र माझी रहेका छन् । उनले शनिबार साँझ साढे ६ बजेको समयमा घरायसी वादविवादका कारण मादक पदार्थ सेवन गरी २४ वर्षीया पत्नी असपतलीयादेवी मुसहरलाई हात, मुक्का तथा लठ्ठीले घाँटी समेतमा प्रहार गरी ज्यान लिएको आरोप छ ।
घटनाबारे सूचना पाएपछि अस्थायी प्रहरी पोस्ट शंकरसरैयामा प्राप्त हुनासाथ तत्कालै नजिकका प्रहरी युनिटहरूलाई जानकारी गराई चारैतर्फ भाग्न, उम्कन सक्ने सीमा क्षेत्रहरूमा कोअर्डिनेसन गरी घटनास्थलमा अस्थायी प्रहरी पोस्ट शंकरसरैयाबाट प्रहरी सहायक निरीक्षक विकाउ साहको कमान्डमा प्रहरी टोली खटि गई माझीलाई घेराबन्दी गरी नियन्त्रणमा लिएको थियो ।
मृतकको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगन्जमा राखिएको छ । माझीलाई ज्यान सम्बन्धी कसूर– कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतबाट सात दिन म्याद थपको अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिएका छन् ।
