हेरोइनसहित भाग्न खोज्दा विशाल राय र मनोज राय पक्राउ परेका छन्। ठेगाना यकिन गर्न प्रहरी निर्वाचन कार्यालयसँग समन्वय गर्दैछ।
राजविराज — प्रहरीले सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ बरही वीरपुरमा दुई राउण्ड हवाई फायर गरेर खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा आइतबार बिहान जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीलाई देख्नासाथ भाग्ने प्रयास गर्दा हवाई फायर गरी दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतमकुमार केसीले जानकारी दिए ।
‘उनीहरुले विशाल राय र मनोज राय नाम बताए पनि ठेगाना फेरिने गरेकाले यकिन हुन सकेको छैन्,’ उनले भने, ‘यकिन गर्न हामी निर्वाचन कार्यालयसॅंग समन्वय गर्दैछौं ।’
उनीहरूको साथबाट बरामद गरिएको खैरो हेरोइन करिब २ सय ग्राम रहेको छ । खैरो हेरोइनको तौल यकिन गर्ने कार्य पनि भइरहेको छ भने थप अनुसन्धान अघि बढाइएको एसपी केसीले बताए ।
