रिसोर्ट सञ्चालकका अनुसार आगलागीबाट १५ लाख बराबरका फर्निचर, फ्रिज, र २५ लाखको घर जलेर नष्ट भएको छ।
काठमाडौँ — रौतहटको ईशनाथ नगरपालिका–२ औरैयास्थित जिल्लाकै पहिलो बनाना रिसोर्टमा शनिबार आगलागी भएको छ। आगलागीका कारण रिसोर्ट भित्रका सबै सरसामान जलेर नष्ट भएका छन्।
रिसोर्ट सञ्चालक राकेश गुप्ताका अनुसार आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीले १५ लाख बराबरका फर्निचर, फ्रिज, कृषि उपकरण, खाद्यान्न, इलेक्ट्रोनिक सामग्री तथा २५ लाख लागतमा बनेको घर जलेर नष्ट भएको उनले बताए।
आगलागी सुरक्षाकर्मी, स्थानीयवासी, सशस्त्र प्रहरी तथा नगरपालिकाको मिनी दमकलको सहयोगमा नियन्त्रणमा ल्याइएको थियो। विद्युत् सर्ट भएर आगलागी भएको आशङ्का गरिए पनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्लाकै पहिलो बनाना रिसोर्टमा मानिसहरू केराबाट बनेका विभिन्न परिकारको स्वाद लिन पुग्ने गर्दथे।
