अलपत्र खानेपानी आयोजनामा मन्त्रीको निरीक्षण

महेन्द्रनगर र विश्रामपुरका खानेपानी आयोजना निरीक्षण गर्दै मन्त्रीले मर्मत सम्भार गरी छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्।

श्रावण १६, २०८२

कमलेश ठाकुर

Minister's inspection of stalled water supply projects

What you should know

जनकपुरधाम — ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवले अलपत्र रहेका खानेपानी आयोजनाहरूको निरीक्षण गरेका छन् । शुक्रबार मर्मत सम्भारको अभावमा बन्द रहेका खानेपानी आयोजनाहरूको मन्त्री यादवले स्थलगत निरीक्षण गरेका छन् ।

मन्त्री यादवको नेतृत्वमा प्राविधिकसहित गएका टोलीले धनुषा महेन्द्रनगरस्थित खानेपानी आयोजना र मिथिला नगरपालिका–५ विश्रामपुरस्थित अर्को खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा मन्त्री यादवले मर्मत सम्भारको अभावका कारण बन्द अवस्थामा रहेका आयोजनालाई यथाशिघ्र सञ्चालनमा ल्याउन खानेपानी डिभिजन कार्यालय महोत्तरीलाई निर्देशन दिएका छन् ।

दुवै खानेपानी आयोजनामा तत्काल पाइपलिंक तथा मर्मत सम्भार गरेपछि पानी सञ्चालनमा आउने टोलीमा सहभागी प्राविधिक खानेपानी डिभिजन कार्यालय महोत्तरीका प्रमुख सञ्जीव साहले बताएका छन् । दुवै आयोजनाको काम पूर्ण रूपमा सम्पन्न गर्न ४/५ करोडको लागत अझै लाग्ने उनको अनुमान छ।

Minister's inspection of stalled water supply projectsतर तत्काल कम लागतमा मर्मत सम्भार गरी सञ्चालन गर्ने गरी काम अगाडि बढाउने उनले प्रतिबद्धता जनाए । उनका अनुसार महेन्द्रनगर खानेपानी आयोजनामा पाइपलिंक, पाइप मर्मत सम्भार र बक्यौता विद्युत् महसूल तिर्नुपर्ने काम रहेको छ । विश्रामपुरस्थित खानेपानी आयोजनामा पाइप जडान र बोरिङ गरेपछि सञ्चालनमा आउने उनको भनाइ छ ।

‘जनताले खानेपानीको चरम अभाव खेप्नु परेको बेला बन्द रहेका आयोजनाहरू तुरुन्त सञ्चालनमा ल्याउनु आवश्यक छ,’ मन्त्री यादवले भने, ‘बजेट अहिले कार्यान्वयन नभए पनि मन्त्रालयको आन्तरिक स्रोत साधनले मर्मत सम्भार गरी तत्काल सञ्चालनमा ल्याई जनतालाई समयमै पानी खुवाउन प्रयासमा हामी जुटेका छौं।’ पानीको अभाव प्रदेशभर रहेको उल्लेख गर्दै सरकारले प्राथमिकता निर्धारण गरेर काम गरिरहेको बताए । बोरिङ जडान कार्य सुरु भइसकेको उनले बताए ।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully