लाखौँ खर्च गरी जडान गरिएका डिप बोरिङ अलपत्र

कतिपय स्थानमा विद्युत् महसुल नबुझाउँदा, उपभोक्ताले विद्युत् मिटर नलिँदा र प्राधिकरणले लाइन काट्दा लामो समयदेखि बोरिङ डिप चलेका छैनन् ।

श्रावण १४, २०८२

सन्तोष सिंह

Deep borings installed at the expense of lakhs are still standing

What you should know

महोत्तरी — जलेश्वरको भागेश्वर पोखरी डिलको डिप बोरिङबाट केही वर्षअघिसम्म आसपासमा धान खेती हुन्थ्यो। बोरिङ त अहिले पनि छ, तर अवशेष मात्रै । बोरिङ फोहरले पुरिएको छ। पम्पका पुर्जा चोरी भएका छन्। प्राविधिक बस्ने कोठा जुवा खेल्ने र लागुऔषध सेवनकर्ताको अड्डा बनेको छ।

बोरिङ बन्द भएपछि जलेश्वर सारिका मोहम्मद सफिद राईनले १० कठ्ठा जग्गामा यस वर्ष धान रोप्न पाएनन्। राईन मात्रै नभई आसपासका ५० बिगाहाभन्दा बढी खेत बाझै छ।

भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महोत्तरीले जडान गरेको डिप बोरिङ चलाउनका लागि विद्युत्को तार त लागिएको छ। तर ट्रान्सफर्मर र अन्य उपकरण नहुँदा बोरिङ चल्न सकेको छैन। सिँचाइका लागि जडान गरिएको डिप बोरिङ प्रयोगमा आउन नसक्दा महोत्तरीका किसानका खेत सुख्खा बनेका छन्। लाखौँ खर्च गरी जडान गरिएका बोरिङ अलपत्र परेका छन्।

Deep borings installed at the expense of lakhs are still standing

बोरिङ चलाएर उपभोक्ताबाट रकम संकलन गरी मर्मत नगर्दा सिँचाइ प्रभावित भएको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय जलेश्वरका इन्जिनियर अमलेश यादवले बताए।

विद्युतीकरण, सामान्य मर्मत, ट्रान्सफर्मर जडान, पम्प मर्मत, पाइपलाइन विस्तार, पुराना इन्जिन हटाएर नयाँसहितको विद्युतीकरण हुन नसक्दा डिभिजनले जडान गरेका २३ डिप बोरिङ सञ्चालनमा आउन नसकेको इन्जिनियर यादवले जानकारी दिए।

कतिपय स्थानमा विद्युत् महसुल नबुझाएको, उपभोक्ताले विद्युत् मिटर नलिएको, प्राधिकरणले लाइन काट्दा लामो समयदेखि बोरिङ नचल्दा बिग्रिएको छ। 'कतिपय बोरिङ चलाउन उपभोक्ता सक्रिय देखिएका छैनन्,' इन्जिनियर यादवले भने, 'डिभिजन कार्यालयले जडान गरेर सञ्चालन गरिरहेका ३१ बोरिङबाट ९८० हेक्टर क्षेत्रमा सिँचाइ भइरहेको छ। तर हामीले जडान गरेका २३ बोरिङ सञ्चालनमा छैनन्। चल्न नसकेका बोरिङलाई ४ करोड ५० लाख खर्च गरेर मर्मत गरी सञ्चालनमा ल्याउन सकिन्छ।'

उनका अनुसार जडान भएको प्रत्येक डिप बोरिङले २० देखि ४० हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न सक्छ।

Deep borings installed at the expense of lakhs are still standing

महोत्तरीमा भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन, कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहा, कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र नक्टाझिझ धनुषा, प्रदेश सरकार, स्थानीय सरकार र गैरसरकारी संस्थाले डिप बोरिङ जडान गर्दै आएका छन्।

शुक्रबार महोत्तरी आएका प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसमा खानेपानी र सिँचाइ संकट समाधानका लागि तत्काल ५ सय डिप बोरिङ जडान गर्ने आश्वासन दिएका थिए। तर हाल जडान भएका नै डिप बोरिङ सञ्चालन हुन सकेका छैनन्।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully