जनकपुरधाम — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले एक हप्ताभित्र किसानलाई राहत हुने गरी काम गर्न मधेश प्रदेशको विद्युत् कार्यालयहरुलाई निर्देशन दिएका छन् ।
मंगलबार नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरधाममा छलफल गर्दै उनले उक्त निर्देशन दिएका हुन् ।
किसानको धान रोपाइँ गर्न एक महिनामात्रै समय रहेको हुनाले द्रुत गतिमा काम गर्नुपर्ने र त्यसको तयारी सुरु गर्न उनले बताए ।
‘धान रोपाइँ गर्ने अब धेरै समय त छैन । एक महिनाभित्र रोपिएन भने धान नै फल्दैनन्,’ उनले भने, ‘त्यसकारण किसानलाई राहत हुने गरी एक हप्ताभित्र सबै तयारी गर्नुपर्यो ।’ प्राविधिक र आर्थिक दुवै रुपमा तयारी गर्न उनले निर्देशन दिए ।
कृषि विद्युतीकरणका बेला कुनै प्रकारको समस्या आउन नदिन, हिटर जल्न नदिन र ट्रान्सफर्मरको विषयमा पनि तयारी थाल्न उनले बताए । मिटरको व्यवस्था, सेवा शुल्क र पालिकासँग समन्वय गरेर काम गर्न उनले बताए ।
माग भएको ठाउँमा एक हप्ताभित्र विद्युतीकरणका लागि पठाउने प्राधिकरणको तयारी छ ।
मधेशमा सिँचाइ अभावमा रोपाइँ हुन सकेको छैन । अकाशे पानी नपरेपछि सरकारले सुक्खा क्षेत्र घोषणा गर्दै संघीय सरकारसँग सहयोगका लागि ध्यानकषर्ण समेत गराएको थियो ।
