गत शुक्रबार महोत्तरी आएका प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसमा खानेपानी र सिँचाइको संकट समाधानका लागि तत्काल ५ सय डिप बोरिङ जडान गर्ने आश्वासन दिएका थिए । तर हाल जडान भएकै डिप बोरिङ सञ्चालन हुन सकेका छैनन् ।
What you should know
महोत्तरी — गौशाला–१२ पडरियाका किसानले धान खेतमा सिँचाइ गर्न पाइप ओछ्याएका छन् । तर डिप ट्युबवेल बोरिङ बिग्रिएर मर्मत नहुँदा सिँचाइ गर्न पाएका छैनन् । धान सुक्न थालेपछि किसान चिन्तित बनेका छन् ।
कमला सिँचाइ पोर्ताहाको बजेटले जडान गरिएको बोरिङ मुख्य सिजनमै बिग्रिएको हो । मर्मतका लागि कुनै पहल नहुँदा किसान समस्यामा परेका छन् ।
मोटरमा समस्या भएको र बनाउन ४–५ दिन लाग्ने ट्युबवेल बोरिङ सञ्चालन समितिका कोषाध्यक्ष राम शोभित महतोले जानकारी दिए । पडरियाकै राम जानकी जल उपभोक्ता समिति गौशाला–१२ मा पाइपलाइन जडान गर्नुपर्ने, मर्लाही धार डिप ट्युबवेल जल उपभोक्ता समितिको सफाइ गर्नुपर्ने अवस्था छ । चालु अवस्थामा रहेका अन्य डिप ट्युबवेल पनि मर्मतको पर्खाइमा छन् ।
गौशाला नगरपालिका वडा नं. १ का ३ वटा किसानका डिप बोरिङ सबमर्सिबल मोटर र तार नहुँदा सञ्चालनमा आउन सकेका छैनन् । वडा नं. ६ मा रहेका ३ वटा डिप ट्युबवेल र ३ वटा बोरिङ पनि सबमर्सिबल र मिटर जडान नहुँदा प्रयोगमा आउन नसकेको कृषि ज्ञान केन्द्र, जलेश्वर महोत्तरीका प्रमुख देवानन्द राय यादवले जानकारी दिए । उनका अनुसार हाल गौशाला लगायत जिल्लाभरिका बोरिङको लागत संकलन भइरहेको छ ।
गौशाला नगरपालिकामा वडा र नगरको बजेटमा बर्सेनि बोरिङ जडान हुन्छ । तर जडान भएपछि सञ्चालनमा आयो वा आएन, चलेका बोरिङलाई के समस्या भयो भन्नेबारे नगरपालिकाले सोधपुछै नगर्ने किसान विद्यानन्द रायले गुनासो गरे ।
अनुदानमा लाखौँ खर्च गरेर ट्युबवेल बोरिङ जडान गरिएको छ तर कतै विद्युत् नजोडिएकाले सञ्चालन हुन सकेको छैन भने कतै मर्मतका लागि बजेट नहुँदा सिँचाइ हुन सकेको छैन ।
गौशाला–११ लक्ष्मिनिया टोलमा कमला सिँचाइ पोर्ताहाको बजेटले जडान गरिएको डिप ट्युबवेल विद्युत् प्राधिकरणले मापदण्ड नपुर्याएको भन्दै बिजुली नजोड्दा किसान सुख्खाको समयमा सिँचाइबाट वञ्चित भएको स्थानीय देविन्दर सिंहले बताए ।
डिप ट्युबवेल सञ्चालन गर्न बनाइएका समितिहरूले किसानबाट चर्को शुल्क संकलन गर्ने गरेका छन् । तर संकलन भएको रकमको कुनै लेखाजोखा छैन । बिग्रिँदा मर्मतका लागि बजेट अभाव हुने गरेको छ । स्थानीय, प्रदेश र संघीय सरकारले नयाँ योजना ल्याउने तर पुराना योजनालाई सञ्चालन गर्न बजेट उपलब्ध नगराउँदा डिप बोरिङ प्रयोगविहीन भएका छन् ।
यसैबीच, महोत्तरीका प्रमुख जिल्ला अधिकारी नरायण प्रसाद रिसालले जिल्लाभरिका बोरिङको अवस्था र सञ्चालनमा ल्याउन लाग्ने खर्चको विवरण संकलन थालेका छन् । सोमबार कृषि ज्ञान केन्द्र, जलस्रोत तथा सिँचाइ विकास डिभिजन, खानेपानी कार्यालय र विद्युत् प्राधिकरणका प्रमुखहरूसँग बैठक गरी तत्काल पहल थालिएको बताउँदै उनले भने, 'सिँचाइको समस्या जटिल छ । तर बोरिङ सञ्चालन गर्न सम्बन्धित कार्यालयलाई सक्रिय बनाएका छौँ ।'
गत शुक्रबार महोत्तरी आएका प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसमा खानेपानी र सिँचाइको संकट समाधानका लागि तत्काल ५ सय डिप बोरिङ जडान गर्ने आश्वासन दिएका थिए । तर हाल जडान भएकै डिप बोरिङ सञ्चालन हुन सकेका छैनन् ।
स्वीकृत बजेट सुख्खामा परिणत
कृषि ज्ञान केन्द्र महोत्तरीले मधेस प्रदेश सरकारले स्वीकृत गरेको वार्षिक कार्यक्रमलाई सुख्खा राहतमा परिणत गरेको छ । प्रमुख यादवका अनुसार जिल्ला भरीका लागि ७० लाख र सोनमा गाउँपालिका, सम्सी गाउँपालिका, रामगोपालपुर नगरपालिका, मनराशिसवा नगरपालिका र औरही नगरपालिकामा १५÷१५ लाख तथा जलेश्वर नगरपालिकामा २० लाख बजेट छुट्याइएको छ ।
