‘बर्सेनि जेठको अन्तिम र असारको पहिलो साता रोपाइँ सकिन्थ्यो । तर यस पटक फिटिक्कै पानी परेन’
What you should know
रौतहट — फतुवाविजयपुर–१ शीतलपुरका जोगीन्द्र साह ६८ वर्षका भए । खडेरीले खेत बाँझो हुन थालेपछि जेठको अन्तिम साता उनले बोरिङ (पम्पसेट) जडान गरी रोपाइँ सके । अहिले वरपरका छिमेकीलाई त्यही बोरिङको पानी दिएर सहयोग गरिरहेका छन् । वरपरकाले पनि धमाधम रोपाइँ थालेका छन् । आकाशे पनीको भर पर्दा खेत रोप्न नपाएपछि यस क्षेत्रमा किसानले अहिले खेत–खेतमा बोरिङ जडान गर्न थालेका छन् ।
बुढयौली उमेरमा यस्तो खडेरीको पहिलो पटक सामना गरेको उनले सुनाए । ‘बर्सेनि जेठको अन्तिम र असारको पहिलो साता रोपाइँ सकिन्थ्यो । तर यस पटक फिटिक्कै पानी परेन,’ उनले भने,‘पचास हजार खर्चेर बोरिङ जडान गरेँ । अहिले छिमेकीको खेतमा पानी दिएर सहयोग गरिरहेको छु ।’ उनको दुई बिगाहा खेत छ । उनको खेतको धान हरियो हुँदै गएको छ । तर वरपरका कैयौँ छिमेकीको खेत भने बाँझै छ । बोरिङ नभएकाहरुले पैसा तिर्दै पानी किनेर रोपाइँ गरिरहेका छन् । उनीजस्तै धेरै किसानको पीडा सहने अवस्थाको छैन । वर्षभरि खानुपर्ने खेत बाँझै छ । टुलुटुलु आकाशमा हेरेर बस्नुको विकल्प नभएका किसानको अवस्था नाजुक छ ।
तराई–मधेश यतिबेला खडेरीको मारमा छ । खेतमा रोपेको धान पनि बिस्तारै सुक्न थालिसक्यो । जमिनमा धाँजा फाटेको छ । सरकारले नै विपद् संकटग्रस्त घोषणा गरेको छ । अवस्था अध्ययन गर्न भन्दै प्राविधिक टोली पनि परिचालन गरेको छ । टोलीले हेर्ने मात्र हो भन्दै किसान आक्रोशित छन् । बोरिङ र बागमती सिँचाइको माध्यमबाट अहिलेसम्म रौतहटमा ६० प्रतिशतभन्दा बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्र गौरका प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जानकारी दिए । ‘खेती भनेको आकाशे पानीमा गरिनु पर्छ । अहिले खडेरीका कारण धमाधम किसानहरु बोरिङको मद्दत लिइरहेका छन्,’ उनले भने,‘जतिसुकै बोरिङको पानीले धान रोपाइँ गरेपनि आकाशको पानी चाहिन्छ नै । नत्र भए धानको फसल निकै कम हुन्छ ।’ प्रमुख कुर्मीले असार १५ देखि साउन १५ सम्म रोपाइँ हुन सकेन भने त्यो धानको फसल निकै कम हुने सुनाए ।
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको १८ पालिकामध्ये फतुवाविजयपुर, ईशनाथ, परोहा, बौधीमाई, राजपुर, मौलापुर नगरपालिकाहरु आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । बाँकीको नगरपालिकामा बागमती सिँचाइ, लालबकैयाको पानीले किसानले खेत रोपाइँ गरेका छन् । कृषि ज्ञानकेन्द्रले जिल्लाका १० वटा नागरपालिकामा भूमिगत सिँचाइका लागि साउन १२ गते बोरिङ जडान गर्न सूचना आहृवान गरेको छ । यसले खडेरीबाट किसानले तत्कालै राहत पाउने प्रमुख कुर्मीले बताए । जिल्लाको मौलापुर, ईशनाथ नगरपालिकाका अधिकांश किसानको खेत बाँझै छ । पानी नपरेपछि खेत बाँझै छाडेको ईशनाथको बन्जराहाका किसान रामप्रवेश यादवले बताए । ‘दश कठ्ठा खेत त्यतिकै छाडेको छु,’ उनले भने,‘पानी पर्दैन । खेतमा पानी लगाउने कुनै उपाय पनि छैन । अब पानी परे रोपाइँ गरौँला नभए यतिकै बाँझो छाडिदिन्छु ।’
भूमिगत पानीको सतह घट्दै गएपछि अहिले चुरे क्षेत्रका संरक्षित प्राकृतिक तालतलैया र वर्षामा बगेर जाने पानी संरक्षण गरेर राखिएका स्रोतमा स्थानीयको ध्यान जान थालेको छ । आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता रहेको किसानले रोपाइँका लागि तयार पारेको धानको बीउ आधा डढेर नष्ट भइसकेको छ । बीउ सुकेपछि किसान चिन्तित छन् । कृषि ज्ञान केन्द्रका अनुसार रौतहटमा ३८ हजार पाँच सय हेक्टर खेतीयोग्य जमिन छ । समयमा रोपाइँ भइदिएको भए प्रतिहेक्टर ४.२ मेट्रिक टन धान उत्पादन हुने प्रमुख कुर्मीले जानकारी दिए । खडेरीका कारण उत्पादनमा कमी आउन सक्ने केन्द्रले जनायो । यस्तै अवस्था रह्यो भने धान उत्पादन आधा घट्ने ज्ञान केन्द्रको अनुमान छ ।
मधेश अन्नभण्डारको रुपमा परिचित छ । तर वर्षा नहुँदा यस पटक ठूलो संकट निम्त्याउन सक्ने मधेश प्रदेशका सांसद युवराज भट्टराईले सुनाए । ‘हामी पनि प्रदेश सरकारसित कुरा राख्छौँ,’ उनले भने,‘बोरिङ जडान गरेर हुन्छ कि के गरेर हुन्छ सिँचाइको व्यवस्था गर्न जोडदार अपील गर्छौँ ।’ समयमा पानी नपरेपछि मधेश प्रदेश सरकारले गएको असार २६ गते प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।
