पर्यटन विकास कार्यालयको मनलाग्दी खर्च : २३ लाखको प्रवेशद्वारमा २४ लाखको ‘डेकोरेसन’ 

प्रवेशद्वार निर्माणमा अनियमितता, छापा मार्दा फाइल बरामद, छानबिन अझै सुरु भएको छैन।

श्रावण १२, २०८२

विद्यानन्द राम

Expensive expenditure of Tourism Development Office: ``Decoration'' worth `24 lakh at the entrance of `23 lakh.

What you should know

राजविराज — कमिसन उठाउन राजविराजबाट कार्यालय सञ्चालन गर्दा विवादित बनेको पर्यटन विकास कार्यालय लहान सिरहाले बजेट खर्च गर्दा पनि मनलाग्दी गरेको पाइएको छ । कार्यालयले गत असारमा बोदे बरसाइन नगरपालिका–९ स्वर्णपट्टीमा निर्माण भइसकेको नेपाल प्रवेशद्वारको ‘डेकोरेसन’ गर्नै २४ लाख रुपैयाँ खर्च गरेको खुल्न आएको हो । 

सो प्रवेशद्वार निर्माण गर्न ०७९/०८० मा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत ३२ लाख रुपैयाँ छुट्याइएको थियो । सो वर्ष २३ लाख रुपैयाँ खर्च हुँदा लगभग प्रवेशद्वार निर्माण भइसकेको थियो । 'फिनिसिङ' मात्रै बाँकी रहँदा पनि कार्यालयले गत असारमा मनलाग्दी बजेट खर्च देखाएको हो । कार्यालयले उपभोक्ता समितिमार्फत २४ लाख रुपैयाँ खर्च देखाउँदासमेत प्रवेशद्वारको माथिल्लो भागमा डिजाइनिङ, फिनिसिङ, रंगरोगन, लाइटिङ र रेलिङबाहेकका काम देखिँदैन । 

प्रवेशद्वारमा थप कार्य हुँदा धेरैमा १५/१६ लाख रुपैयाँ खर्च भएको हुनसक्ने स्थानीय बताउँछन् । ‘अधूरो योजना पूरा हुनुपर्छ तर बजेट दुरुपयोग हुनु भएन, त्यही कुरा बोल्छु भने उपभोक्ता समितिमा भएकाहरू दुस्मन नै ठान्छन्,’ नाम नछाप्ने सर्तमा एक स्थानीयले भने, ‘कार्यालयले कमिसनको लागि यहाँ ८/९ लाख रुपैयाँ बढी भुक्तानी दिएको छ ।’ 

Expensive expenditure of Tourism Development Office: ``Decoration'' worth `24 lakh at the entrance of `23 lakh.सप्तरीको बोदे बरसाइन नगरपालिका–९ स्वर्णपट्टीमा ‘डेकोरेसन’ अघिको नेपाल प्रवेशद्वार ।

कार्यालयका प्रमुख वसन्तकुमार दासले ‘इस्टिमेट’अनुसार नै काम सकिएपछि भुक्तानी दिइएको बताए । ‘त्यहाँ वाल लगाउने र माटो फिलिङको काम पनि भएको छ,’ उनले भने । असार २३ गते सोमबार कार्यालयका कर्मचारीले राजविराज नगरपालिका–८ स्थित शुभलक्ष्मी इन्जिनियरिङ कन्सल्टेन्सीबाट कमिसन उठाइरहेको गुनासोपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले छापा मार्दा सब–इन्जिनियर सुरेन्द्रकुमार यादवलाई नियन्त्रणमा लिइएको थियो । 

Expensive expenditure of Tourism Development Office: ``Decoration'' worth `24 lakh at the entrance of `23 lakh.सप्तरीको बोदे बरसाइन नगरपालिका–९ स्वर्णपट्टीमा ‘डेकोरेसन’ पछिको नेपाल प्रवेशद्वार । 

त्यहाँबाट आठ थान फाइल समेत बरामद भएपछि छानबिन गर्नका लागि सोही दिन जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको थियो । तर, सिरहा प्रशासनले जफत गरिएका कागजातसहित सब–इन्जिनियर यादवमाथि कुनै छानबिन नै नगरी उन्मुक्ति दिएको थियो । सोही कार्यालयका प्रमुख दासलाई नै छानबिन गर्ने जिम्मेवारी दिएर पठाएको जिल्ला प्रशासन कार्यालयले जनाए पनि अझैसम्म छानबिन अघि बढाइएको छैन । कार्यालय प्रमुख दासले ती विषयमा छानबिन भइरहेको बताउँछन् ।

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully