मधेश कृषि विश्वविद्यालय र आरपीसीएयूबीच सम्झौता

श्रावण १२, २०८२

विद्यानन्द राम

Agreement between Madhesh Agricultural University and RPCAU

राजविराज — मधेश कृषि विश्वविद्यालय (एमएयू) र भारतको डा.राजेन्द्रप्रसाद केन्द्रीय कृषि विश्वविद्यालय (आरपीसीएयू)बीच कृषि शिक्षाको विकास, अनुसन्धान, प्रविधि हस्तान्तरण र शैक्षिक सहकार्यका लागि सम्झौता भएको छ ।

२०७८ मंसिर २७ मा मधेश प्रदेश सरकारको पहलमा स्थापित मधेश कृषि विश्वविद्यालय र सन् १९०५ मा स्थापना भई २०१६ मा भारत सरकारबाट केन्द्रीय विश्वविद्यालयको रूपमा मान्यता पाएको डा. राजेन्द्रप्रसाद केन्द्रीय विश्वविद्यालयबीचको सोमबार सम्झौता भएको हो ।

सम्झौताअनुसार कृषिसम्बन्धी उच्च शिक्षाको स्तर अभिवृद्धि गर्ने, दुवै देशका विद्यार्थी र अनुसन्धानकर्तासँग अनुभव आदानप्रदान हुने, प्रविधिको संरक्षण तथा व्यापारीकरणमा आपसी सहमति हुने, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण हुनेछ । त्यस्तै, आधुनिक प्रविधिको साँझा प्रयोग हुने र कृषि क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि हुने प्रबुद्ध समूहको बैठकमा सहभागिता जनाउने, आधुनिक शिक्षा पद्धतिको विकासमा हातेमालो गर्ने, आवश्यकताअनुसार बैठक, सेमिनार र कार्यशाला गोष्ठी सञ्चालन गर्ने लगायतका विषय सम्झौतामा उल्लेख छ ।

उक्त सम्झौतामा दुई देशको विविधतासँग मेल खाने नयाँ प्रविधि र अनुसन्धान साझेदारीमा विशेष चासो व्यक्त गरिएको रजिष्ट्रार डा. श्रीभगवान् ठाकुरले जानकारी दिए । रजिष्ट्रार  पनि सोही  विश्वविद्यालयबाटै कृषि स्नातकोत्तर तहमा अध्ययन गरेका छन् ।

सम्झौताले भारत–नेपालबीचको शैक्षिक सम्बन्धलाई बलियो बनाउँदै थप मद्दत पुग्ने विश्वास लिइएको छ । सो कार्यक्रममा मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा.बैद्यनाथ महतो, रजिष्ट्रार डा.ठाकुर तथा समस्तीपुर विश्वविद्यालयका रजिष्ट्रार डा.मृत्युन्जय कुमार लगायतका सहभागी थिए ।

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully