राजविराज — पठनपाठन मैत्री कक्षाकोठा नरहेको भन्दै विद्यार्थीले आइतबार मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले शैक्षिक भवनको मूलढोकामा तालाबन्दी गरेका हुन् ।
बढ्दो गर्मीमा पनि जस्ताले छाएको कोठामा कक्षा सञ्चालन भइरहँदा पठनपाठन प्रभावित भइरहेको बीएसी एजी, पाँचौं तहमा अध्ययनरत अभिषेककुमार यादवले बताए । ‘एक त प्रचण्ड गर्मी, त्यसमाथि जस्ताले छाएको कक्षाकोठा,’ उनले भने, ‘चार/पाँच वटा फ्यान चलिरहँदा ध्वनि प्रदूषणले पछाडिका विद्यार्थीले शिक्षकले पढाएको केही सुनेकै हुँदैन ।’
क्याम्पस प्रशासनलाई ती विषयमा पटकपटक गुनासो गर्दासमेत सुनुवाइ नभएको विद्यार्थीको गुनासो छ । बढी शूल्क असुल्ने गरेको, तिरेको शूल्कको नगदी रसिद नदिने गरेको र प्रयोगात्मक कक्षा नियमित नभइरहेको विषयमा लिखित जानकारी गराउँदासमेत सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गरेको उनीहरुले बताए ।
विश्वविद्यालयका रजिस्ट्रार डा. श्रीभगवान ठाकुरले तालाबन्दी खुलाउन विद्यार्थीसँग समन्वयन भइरहेको बताए ।
