जनकपुरधाम — मधेश प्रदेशका १० वटा पालिकामा आपतकालीन कार्यक्रम लागू गरिने भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा र बेलायत सरकारअन्तर्गत सञ्चालित ‘स्टार्ट फन्ड नेपाल’ परियोजना कार्यान्वयनमा संचालनमा ल्याउने तयारी भएको हो । पहिलो चरणमा १० पालिकामा कार्यक्रम सुरु गरिने छ ।
खडेरी प्रभावित पर्सा, बारा, रौतहट, सर्लाही, सिराहा र सप्तरी जिल्लाका १० पालिकामा लागू हुने यो कार्यक्रम आगामी दुई महिनासम्म सञ्चालन हुनेछ ।
स्टार्ट फन्ड नेपाल तथा साझेदार संस्थाहरूको समन्वयमा सञ्चालन हुने परियोजनाबाट ८ हजार ३ सय ५५ घरधुरीका ४४ हजारभन्दा बढी नागरिक लाभान्वित हुनेछन् । कार्यक्रमका लागि कुल २ करोड ६० लाख ३३ हजार ४ सय ७६ रुपैयाँ बजेट विनियोजन गरिएको प्राधिकरणले जनाएको छ ।
प्रदेश सरकारद्वारा सुक्खा क्षेत्र घोषणा र संघीय मन्त्रिपरिषद्को संकटग्रस्त घोषणापछि यो परियोजना संचालन हुन लागेको हो । कार्यक्रम तीन चरणमा विभाजित गरिएको छ । जसअन्तर्गत तत्काल पानी आपूर्ति गर्ने कार्यअन्तर्गत खडेरीग्रस्त क्षेत्रमा आपतकालीन पानी वितरण गरिनेछ ।
मध्यकालीन समाधानअन्तर्गत गहिरो बोरहोल खन्ने सम्भाव्यता अध्ययन, अवस्थित सिंचाइ प्रणालीको सुधार र सरकारी समन्वयमा दीगो पानी प्रणाली निर्माण गरिनेछ ।
यस्तै जीविकोपार्जन पुनःस्थापनाअन्तर्गत कृषकहरूका लागि ‘क्यास फर वर्क’ कार्यक्रम, सिंचाइ मर्मत र वैकल्पिक बाली प्रवर्द्धनमा प्राविधिक सहयोग गरिने जनाइएको छ ।
