कृषि कर्जा मिनाहा गर्न माग

श्रावण ११, २०८२

कमलेश ठाकुर

Demand to waive agricultural loans

जनकपुरधाम — जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिले सुख्खाग्रस्तबाट प्रभावित किसानको कृषि कर्जा मिनाहा गर्न माग गरेको छ ।

आइतबार प्रदेश समितिको अध्यक्ष बालकिशोरप्रसाद यादवद्वारा जारी विज्ञप्तिमा उक्त माग गरिएको हो ।

विज्ञप्तिमा उल्लेख भएअनुसार अनुसार प्रदेश समितिको बैठकले किसानलाई राहत स्वरुप २४ औं घण्टा निःशुल्क विद्युत् दिनुपर्ने, विद्युत् नपुगेका ठाउँका किसानलाई डिजल उपलब्ध गराउनु पर्ने र कृषि कर्जा मिनहा गर्न माग गरिएको छ ।

खडेरीबाट दीर्घकालीन रुपमा बच्न नदीबाट सिँचाइ गर्न प्राथमिकताकासाथ बजेट विनियोजन गर्नुपर्ने, सोलार सिँचाइको व्यवस्था गर्नुपर्ने, चुरे संरक्षण गर्नुपर्ने र वन फँडानी रोक्न माग गरिएको छ ।

विज्ञप्तिमा मानवीय व्यवहार र सरकारको गल्तीले पर्यावरणमा असर पुगेको समेत उल्लेख गरिएको छ । पानीको सतह सकेर आम नागरिक खानेपानी नपाएको हुनाले वैकल्पिक माध्यमबाट पानीको व्यवस्था गर्न पनि माग गरिएको छ ।

जसपा निकट समाजवादी युवा संघले पानी माग्दै प्रदेश सरकारविरुद्ध प्रदर्शन समेत गरेका थिए । सरकारले सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेपनि आवश्यक रणनीति र योजना नल्याएको प्रदर्शनमा सहभागिहरुको गुनासो छ । 

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully