गर्मी बढेसँगै वीरगन्ज बाल सुधार गृहमा चर्म रोग फैलियो

श्रावण ११, २०८२

शंकर आचार्य

As the summer heats up, skin diseases spread in Birgunj Children's Reform Home

What you should know

पर्सा — अत्यधिक गर्मी बढेसँगै वीरगन्जस्थित बालसुधार गृहमा चर्म रोग पनि फैलिएको छ । गृहमा आश्रित बालक तथा किशोरहरूमा अहिले चिलाउने, लुतोको संक्रमण फैलिएको छ । गृहकी स्टाफ नर्स अन्जु कुमारी झन्डै एक महिनायता यो रोगको संक्रमण फैलिएको बताउँछिन् ।

‘साँघुरो गृहमा कोच्चिएर बसेका बालक तथा किशोरहरूमा छिट्टै चर्म रोग फैलिएको हो,’ उनले भनिन्, ‘एक त प्रचण्ड गर्मी त्यसमाथि एउटै कोठामा १० देखि १५ जना सम्म कोच्चिएर बस्नु परेको अवस्था छ ।’

यसरी रोग लागेकाहरूसँग सम्पर्कमा आउनेलाई छिट्टै चर्मरोग सर्ने भएकाले गृहमा यो रोग तीव्र गतिमा विस्तार भएको उनले बताइन् । गर्मीका कारण दैनिक एक/दुई जना गृहमा आश्रित बालक बेहोस भइरहेको उनले बताइन् । ‘दैनिक एक/दुई जनाको दरले यसरी बेहोस भएका छन्,’ उनले भनिन्, ‘दैनिक कोही न कोही अस्पताल भर्ना गर्न लाने गरेका छौं ।’

गृहका निमित्त प्रमुख रवीन्द्रकुमार साह गृहको भौतिक संरचना जीर्ण र साँघुरो भएकाले बर्सेनि गर्मी महिनामा गृहमा समस्या हुने गरेको बताउँछन् । करिब २ कठ्ठा क्षेत्रफलमा मात्र फैलिएको गृहमा जम्मा ९ कोठा छन् । कोठाको आकार अनुसार तीनमा १० देखि १५ जना सम्म आश्रितलाई राख्नु पर्ने बाध्यता रहेको उनले बताए । गृहमा हाल १ सय २८ जना बालक तथा किशोर आश्रित छन् । यो क्षमताभन्दा करिब तेब्बर बढी संख्या हो ।

साँघुरो गृह परिसरमा खाना पकाउने मेस मुश्किलले सञ्चालन गरिएको छ । खेल मैदानको अभावले दिनभर गृहमा आश्रित बालक तथा किशोरहरू गफ गरेर बस्नु पर्ने बाध्यता छ । साँघुरो गृह परिसरमै गृहको कार्यालय, प्रहरीको युनिटसमेत सञ्चालनमा छ ।  

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully