करेन्ट लागेर ढलेका श्रीमान्‌लाई उठाउन गएकी श्रीमतीको पनि मृत्यु, भतिजी घाइते

खंग दम्पतीको निधनपछि दुई सन्तान बेसहारा बनेका छन्

श्रावण १०, २०८२

विद्यानन्द राम

The wife who went to pick up her husband who had fallen due to electric current also died, the niece was injured

राजविराज — सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँका ४२ वर्षीय बालेश्वर खंग ‘कैला’ शनिबार बिहानै ४ बजे उठे । र, आफ्नो ई–रिक्सा चार्ज गर्न थाले । अचानक करेन्ट लागेर उनी त्यहीँ ढल्न पुगे । 

केहीबेरसम्म उनलाई नदेखपछि ३८ वर्षीया पत्नी रामकुमारी खोज्न थालिन् । बालेश्वरलाई ढलेको देख्नासाथ उठाउन गएकी उनलाई करेन्ट लाग्यो । उनी पनि त्यहीँ ढल्न पुगिन् ।

दुवैलाई करेन्ट लागेपछि छुटाउन गएकी भतिजी २४ वर्षीया प्रमिलाकुमारीलाई पनि करेन्ट लागेर टाउको चोट लागेको छिमेकी राजेन्द्रकुमार मण्डलले बताए ।उनका अनुसार बालेश्वर बिहान ४ बजे नै उठेका थिए ।

‘लाइन काट्दासम्म दम्पतीको मृत्यु भइसकेको थियो,' मण्डलले भने, ‘सम्पत्तिको नाममा केही छैन उहाँहरुसँग, अब दुई बालबालिकालाई गुजारा चलाउन ज्यादै मुस्किल पर्छ ।’ खंग दम्पतीको गुजाराको माध्यम नै ई–रिक्सा रहेको उनले बताए ।

घटनास्थल पुगेका गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगेको बताए । ‘दुवै जनाको निधनले हामी मर्माहत छौं,’ उनले भने, ‘हामीले गर्न सक्ने सहयोग गाउँपालिका र व्यक्तिगत तवरले पनि गर्छौं ।’ 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । ‘घटनास्थलमा कानुनी प्रक्रिया गरी पूरा थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।

मृतक दम्पतीका १९ वर्षीय सुरज र १० वर्षीय निरज गरी दुई छोरा छन् । 

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully