उखरमाउलो गर्मीले मधेश आक्रान्त

अति आवश्यक कामबाहेक सर्वसाधारण घरबाहिर निस्कनै छाडे

श्रावण १०, २०८२

ओमप्रकाश ठाकुर

Madhesh is suffering from extreme heat

सर्लाही — लामो समयदेखि पानी पार्न नसक्दा तराई-मधेशमा गर्मी अत्यधिक बढेको छ । चर्को गर्मीले यहाँको जनजीवन कष्टकर बनेको छ ।

गर्मीका कारण सर्वसाधारण दिउँसो घरबाट निस्कन सकेका छैनन् । सहनै नसक्ने गर्मीले सबैभन्दा बढी किसान मजदुर तथा विद्यार्थी प्रभावित बनेका छन् । गर्मीले साँझसम्म चोक बजार सुनसान हुन थालेको छ । 

मधेशमा ३७ डिग्री सेल्सियस हाराहारी तापक्रम हुने गरेको छ । स्थानीय रजनीकान्त झाका अनुसार गर्मीले सबैभन्दा बढी मजदुर, किसान तथा विद्यार्थीहरु प्रभावित बनेका छन् । ‘लामो समय भइसक्यो पानी नपरेको, जसले गर्मीको सीमा पार गरेको छ, हावा नचलेर हुप्प भएको बेला पसिनाले शरीर नै भिज्ने गरेको छ,' उनले भने ।

गर्मी बढेपछि सरकारी कार्यालयमा समेत सेवाग्रहीको चाप कम छ । अति आवश्यक कामबाहेक सर्वसाधारण घरबाहिर निस्कनै छाडेका छन् ।

चर्को घाम र गर्मीले खेतबारीमा टिक्न नसक्ने अवस्था रहेको कविलासी नगरपालिका–१ पिपरियाका रामनन्दन मण्डलले बताए । ‘काम नगरे माम पाउँदैन, टन्टलापुर घाम र गर्मीले आहात बनाएको छ, तर भोको पेटको चिन्ता हुन्छ,’ उनले भने, ‘गर्मीले उकुसमुकुस भए पनि काम त गर्नैपर्‍‍यो ।’ 

गर्मी बढेपछि निजी तथा सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ । टाउको दुख्ने, डायरिया, रुघाखोकी तथा ज्वरो लगायतका संक्रमण भई अस्पतालमा बिरामी आउने संख्या बढिरहेको प्रादेशिक अस्पताल मलंगवाले जनाएको छ । गर्मीमा पानीको मात्रा बढाउन चिकित्सकहरुले अनुरोध गरिरहेका छन् । 

ओमप्रकाश

Link copied successfully