शुक्रबार साँझ पवनकुमार साह र २२ वर्षीय नितेशकुमार जल लिन नदीमा गएका बेला डुबेर बेपत्ता भएका थिए।
What you should know
रौतहट — रौतहटको चन्द्रपुर–१ स्थित वाग्मती नदीमा डुबेर एक भारतीय युवकको मृत्यु भएको छ भने अर्का बेपत्ता छन्। बोल बमका लागि जल लिन गएका युवकमध्ये एकको डुबेर मृत्यु भएको हो भने अर्का युवक बेपत्ता भएका छन्।
नुनथरस्थित वाग्मती नदीमा जल लिने क्रममा डुबेर बेपत्ता भएका भारतको बिहार राज्य अन्तर्गत सीतामढी जिल्लाको ग्राम जमुआहा १ पञ्चायत मठियाका शिवशंकर साहका १४ वर्षीय छोरा पवनकुमार साहको शव शनिबार फेला परेको हो। शुक्रबार साँझ पवनकुमार साह र २२ वर्षीय नितेशकुमार जल लिन नदीमा गएका बेला डुबेर बेपत्ता भएका थिए।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट डीएसपी रूपा लाबुङ र प्रहरी निरीक्षक सोनुकुमार रामको टोली खोजतलासका लागि घटनास्थल पुगेको थियो।
दुवै भारतीय युवक बेपत्ता भएको जानकारी परिवारले इलाका प्रहरीलाई दिएपछि खोजी कार्य सुरु गरिएको थियो। इलाका प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनास्थलबाट करिब १५० मिटर दक्षिणमा रहेको झोलुङ्गे पुल नजिकै तैरिरहेको अवस्थामा पवनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपककुमार रायले जानकारी दिए।
उनले भने, ‘पवनको परिवारले शवको पहिचान गरेको छ। अर्का बेपत्ता युवकको खोजी भइरहेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि पवनको शव परिवारलाई जिम्मा दिइनेछ।’
वाग्मती नदीमा प्रत्येक वर्ष पौडी खेल्ने र बोलबम जाने क्रममा मानिसहरू बेपत्ता हुने गरेको पाइएको छ। प्रहरीले उक्त क्षेत्रमा पौडी खेल्न निषेध गरे पनि घुम्न गएका पर्यटकहरू जबरजस्ती नदीमा जाने गरेको पाइएको छ।
