चुरेको संरक्षण र तालतलैया नबनाए मधेश अझै सुख्खाग्रस्त हुनेछ : प्रधानमन्त्री ओली

‘दीर्घकालीन रूपमा चुरेको संरक्षण र चुरे क्षेत्रमा ठूल्ठूला तालतलैया निर्माण अबको आवश्यकता’

श्रावण ९, २०८२

शंकर आचार्य, लक्ष्मी साह

Madhesh will continue to suffer from drought if we don't protect Chure and build Taltalaiya: Prime Minister Oli

What you should know

पर्सा — प्रधानमन्त्री केपी शर्मा ओलीले दीर्घकालीन रूपमा चुरेको संरक्षण र चुरे क्षेत्रमा ठूल्ठूला तालतलैया निर्माण नगरे भविष्यमा मधेश प्रदेश अझै सुख्खाग्रस्त हुने बताएका छन् ।

शुक्रबार बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘दीर्घकालीन रूपमा चुरेको संरक्षण र चुरे क्षेत्रमा ठूल्ठूला तालतलैया निर्माण अबको आवश्यकता हो,’ उनले भने, ‘यसो गरिएन भने भविष्यमा मधेश सुख्खाग्रस्त क्षेत्र हुँदै जान्छ र पानीको सतह अझै गहिरिँदै जान्छ ।’

दुई दिनअघि मन्त्रीपरिषद्बाट मधेश प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरी मधेश प्रदेशमा खानेपानी र सिँचाइको क्षेत्रमा तीव्र गतिमा काम गर्न लागिएको उनले बताए । शुक्रबार हवाई भ्रमणको क्रममा आफूले महोत्तरी र सर्लाहीमा रोपाइँ अत्यन्त कम भएको र बारामा सन्तोषजनक रूपमा रोपाइँ भएको देखेको बताए ।

मधेशमा पानीको सतह नघटोस् र यहाँ खानेपानी र सिँचाइको समस्या नहोस् भनी आफ्नै कार्यकालमा सुनकोशी मरिन डाइभर्सनको सुरु गरेको भन्दै उनले उक्त आयोजनाको काम अत्यन्त सुस्त गतिमा भएको बताए । ‘सुनकोशी मरिन डाइभर्सनको काम अब तीव्र गतिमा हुनु पर्छ, यसका लागि तुरुन्तै ठेक्का लगाउने र बाँकी ठेक्काहरू लगाउने काम गरिनेछ,’ उनले भने, ‘यो आयोजनाले मधेश प्रदेशका ५ जिल्लाको १ लाख ८५ हजार बिघा खेतमा सिँचाइ सुविधा उपलब्ध हुने छ ।’ यसबाट यी पाँच जिल्लाको उत्पादन ५ देखि ६ गुना सम्मले वृद्धि हुने उनले दाबी गरे ।

सुनकोशी लाहान, सुनकोशी कमला डाइभर्सनको काम पनि अघि बढाउने तयारी सरकारले गरेको उनले बताए । मधेशमा पूर्वाधारको क्षेत्रमा तीव्र विकास भई रहेको बताउँदै प्रधानमन्त्री ओलीले गत आर्थिक वर्षमा देशभरिमा करिब तीन हजार पाँच सय पुल निर्माण भएको बताए । नौ सय ३२ किमी बाटो यस वर्ष कालोपत्रे भएको उनले बताए । देश अनेक प्राकृतिक विपत्ति झेल्दै पनि विकासको पथमा अघि बढेको उनले दाबी गरे । खानेपानी आयोजना, शिक्षा, स्वास्थ्य आदिको क्षेत्रमा पनि देश अघि बढी रहेको बताउँदै उनले विकासको गतिलाई अझ तीव्र बनाउने नीति लिएको बताए ।

आफू पहिलो पटक प्रधानमन्त्री बन्दा हुलाकी राजमार्गको काम सुरु गरेको बताउँदै उनले यो राजमार्गलाई पूर्णता दिन प्रतिबद्ध रहेको बताउँदै उनले हुलाकी सडकसँगै त्यस आसपास ९/१० वटा स्मार्ट सिटी निर्माणको पनि लक्ष्य रहको बताए । राजमार्गको केही पुल माटो परीक्षणको समस्या र ठेकेदारको ढिलासुस्तीले गति लिन नसकोको बताउँदै उनले छिटै नै यो राजमार्गलाई पूर्वदेखि पश्चिमसम्म अविच्छिन्न राजमार्गको रूपमा विकास गरिने बताए ।

बारालाई मत्सय सुपर जोन जिल्लाको रूपमा सरकारले घोषणा गरेको बताउँदै उनले यसले किसानको आम्दानी चार गुनाले बढेको बताए । नेपालको आवश्यकता पूरा गर्ने गरी माछा उत्पादन हुन लागेको उनले बताए । १० वर्षमा कृषिमा आधुनिकीकरण ह्वात्तै बढेको बताउँदै उनले विभिन्न जिल्लालाई आलु, केरा, सुपारी आदिको जोन तयार गरेर काम भइरहेको बताए । अब एक वर्षमा नेपाल अल्पविकसित देशबाट विकासशील देशमा स्तरोन्नति हुन लागेको उनले बताए । ‘केही पनि भएन भन्ने कुरो होइन, धेरै भएको छ,’ उनले भने, ‘तर हामीले गर्न खोजे जति भएको छैन, अझै हामी अघि बढ्नु छ, विकासको गतिलाई अझ अघि बढाउनु छ ।’

नेपालमा राजनीतिक अस्थिरता एउटा ठूलो समस्या रहेको बताउँदै प्रधानमन्त्री ओलीले पार्टीहरूलाई काम गर्न नदिने, अस्थिरता खडा गर्ने, पार्टीहरुले तोडफोड गर्ने र सरकारलाई काम गर्न नदिने प्रवृत्ति अझै पनि देखा परेको बताए । प्रतिपक्षको भूमिकामा बस्न नचाहने प्रवृत्तिले पनि समस्या भइरहेको उनले बताए । यिनै प्रवृत्तिलाई सन्तुलित ढंगले समाधान गरी आफूहरू अघि बढी रहेको उनले बताए ।

नेपाल अन्तर्राष्ट्रिय छविमा अब सुधार आइरहेको पनि उनले बताए । देश अब स्थिरतातर्फ जाँदै गरेको बताउँदै उनले नेकपा एमाले र नेपाली कांग्रेसले अन्य पार्टीलाई पनि समावेश गरी संयुक्त सरकार बनाएको उनले बताए । सरकारले अस्थिरताको अन्त्य गर्ने र देशलाई स्थिरता र स्थायित्वतर्फ लगेर विकासको गतिलाई अघि बढाउने काम गरेको उनले बताए ।

यसअघि प्रधानमन्त्री ओलीले ३ करोड २५ लाख रुपैयाँको लागतमा निर्मित परवानीपुर गाउँपालिकाको भवन उद्‌घाटन गरेका थिए ।

साँझ करिब पउने ५ बजे हेलिकोप्टरबाट परवानीपुरमा अवतरण गरेका प्रधानमन्त्री ओली एक घण्टापछि काठमाडौँ फर्किएका थिए । उनको साथमा लोसपा अध्यक्ष महन्थ ठाकुर, श्रम तथा यातायातमन्त्री शरतसिंह भण्डारी पनि थिए । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully