सप्तरीमा ‘लम्पी स्किन’ फैलिँदै 

दुई चौपाया मरे, चार दर्जन संक्रमित

श्रावण ७, २०८२

विद्यानन्द राम

'Lumpy skin' spreading in Saptari

What you should know

राजविराज — सप्तरीका चारवटा स्थानीय तहमा चौपायामा सर्ने छालाको सङ्क्रमण ‘लम्पी स्किन’ फैलिएको छ । दुई सातायता रुपनी, राजगढ, विष्णुपुर र बलान बिहुल गाउँपालिकामा उक्त संक्रमण देखिएको हो ।

‘लम्पी स्किन’ का कारण रुपनी गाउँपालिका–४ भथौलका ब्रहमदेव यादव र भुवनेश्वर साहका एक/एक वटा बाछा मरेका छन् भने सो टोलसहित छपकी र लक्ष्मीपुरका दुई दर्जनभन्दा बढी चौपायामा सङ्क्रमण देखिएको छ।

'बाच्छामा संक्रमण देखिएपछि उपचार सुरु गरिसकेका थियौं, तर ६ हजार रुपैयाँ खर्च गर्दा पनि निको भएन,' साहले भने, 'यहाँका लगभग सबै चौपाया संक्रमित छन्। पालिकामा जानकारी गराए पनि उपचारको व्यवस्था मिलाइएको छैन।'

गाउँपालिकाका भेटेरीनरी उप–संयोजक धनजितकुमार खड्गाले संक्रमण नियन्त्रणका लागि भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रसँग समन्वय भइरहेको बताए । 'पालिकाको प्राविधिक टोली पनि उपचारमा खटिएको छ। हामीले प्रादेशिक अस्पताललाई पनि लेखी पठाइसकेका छौं,' उनले भने।

सोही क्षेत्रका विष्णुपुर गाउँपालिका–१ खुरुहुरिया र राजगढ गाउँपालिका–५ मलेकपुरमा रहेका चौपायाको स्थानीय भेटेरीनरी जेटिए सन्तोषकुमार यादवले प्राथमिक उपचार गरिरहेका छन् । उनका अनुसार खुरुहुरिया र मलेकपुरमा पनि एक दर्जनभन्दा बढी चौपायामा ‘लम्पी स्किन’ को संक्रमण देखिएको छ । ती चौपायामा ज्वरो आउने, दाना–पानी कम खाने र छालामा गोलागोला गिर्खा देखिने लक्षण देखिएका छन् ।

'Lumpy skin' spreading in Saptariबलान बिहुल गाउँपालिका–१ बरही टोल र वडा नम्बर ५ रामनगरमा गरी ११ वटा चौपायामा संक्रमण देखिएको छ । बरही टोलमा देखिएको संक्रमण नियन्त्रणका लागि विज्ञ केन्द्रले पठाएको टोलीले उपचार गरे पनि अन्य स्थानमा देखिएको सङ्क्रमणबारे भने केन्द्रमा जानकारी पुगेको छैन ।

विज्ञ केन्द्रका प्रमुख डा. रामपवित्र दासका अनुसार बलान बिहुलको एउटा वडाका ८–९ वटा चौपायामा सङ्क्रमण देखिएपछि टोली पठाएर उपचार गरिएको छ। 'त्यहाँ सङ्क्रमण लगभग नियन्त्रण भइसकेको छ, तर अन्य स्थानमा फैलिएकोबारे जानकारी आएको छैन,' उनले भने, थप बुझ्ने कार्य भइरहेको छ।'

उनका अनुसार गत वर्ष जिल्लामा ‘लम्पी स्किन’ विरुद्ध ४१ हजार ५ सय चौपायामा खोप लगाइएको थियो। तर, साउनअघि नै खोप सकिएकाले समस्या भएको उनको भनाइ छ ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully