सर्लाही — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित लच्का नजिक ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा चालकको ज्यान गएको छ ।
लालबन्दीबाट नवलपुरतर्फ गइरहेको को १ ख ५९३८ नम्बरको खाली तेल ट्याङ्करले विपरीत दिशाबाट आइरहेको बा ८७ प १३७० नम्बरको मोटरसाइकल ठक्करदिंदा मोटरसाइकल चालक हरिवन नगरपालिका–४ सासापुर निवासी ३१ वर्षीय रामबहादुर स्याङतान गम्भीर घाइते भएका थिए।
घाइते स्याङतानलाई मोडेल अस्पताल लालबन्दीमा प्राथमिक उपचार गराइ थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको चिकित्सकले जनाएको छ ।
घटनामा संलग्न ट्याङ्कर चालक सुनसरी रामधुनी नगरपालिका–९ निवासी ३२ वर्षीय अरविन्द महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
