कुपोषित बालबालिकालाई ‘आरयूटीएफ’ दिन थालियो

श्रावण ६, २०८२

शंकर आचार्य

'RUTF' was started for malnourished children

What you should know

पर्सा — पाँच महिनादेखि कुपोषित बालबालिकालाई खुवाउने पोषिलो दूध ‘एफ १००’ को मौज्दात सकिएपछि वीरगन्जस्थित पोषण पुनर्स्थापना केन्द्रमा आश्रित कुपोषित बालबालिकालाई केन्द्र प्रशासनले उक्त दूधको विकल्पमा ‘आरयूटीएफ’ अर्थात् ‘रेडी टू युज थेरापेटिक फुड’ दिन थालेको छ ।

केन्द्र प्रमुख सरिता यादवले पाँच महिनाअघि ‘एफ १००’ दूधको मौज्दात सक्किएपछि केन्द्रबाट उक्त दूध नआएकाले त्यसको विकल्प मानिने ‘आरयूटीएफ’ दिन थालिएको बताइन् । 

‘आरयूटीएफलाई एफ १०० कै विकल्प मानिन्छ,’ उनले भनिन्, ‘यसको एक प्योकटमा ५ सय क्यालोरी लगायत कुपोषित बालबालिकालाई चाहिने पोषणको मात्रा हुने गर्छ ।’ दाल, भात, तरकारी, दूध, दही, माछा, मासु, सागपात, फलफुल आदिसँगै नियमित रुपमा ‘आरयूटीएफ’ पनि दिने गरिएको उनले बताइन् । 

‘यो दूध संघीय स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य विभागले उपलब्ध गराउँदै आएको थियो,’ उनले भनिन्, ‘हामीले विभागको पथलैयास्थित स्टोरबाट नियमित रुपमा यो दूध ल्याउँथ्यौं, अहिले उक्त स्टोरमा पनि दूधको मौज्दात सक्किएको छ ।’ 

विश्व स्वास्थ्य संगठनको पछिल्लो मापदण्ड अनुसार उचाइअनुसारको तौल नभएका बालबालिकामा कुपोषणको समस्या रहेको यकिन गर्ने गरिएको यादव बताउँछिन् । सामान्यतया नवजात शिशुको उचाइ कम्तीमा ५० सेमि हुनुपर्ने र त्यसपछि अर्को वर्ष उक्त शिशुको उचाइ २५ सेन्टिमिटर, फेरि अर्को वर्ष १२ दशमलव ५ सेमि र त्यसपछिको वर्ष पनि १२ दशमलव ५ सेमिका दरले उचाइ वृद्धि भएको हुनुपर्ने उनले बतँइन् । बालबालिकामा सामान्यतया पुड्कोपना र ख्याउटेपना, उमेर अनुसार कम तौल र सूक्ष्म तत्वको कमीजस्ता तीन खालका कुपोषण हुने गरेको उनले बताइन् । 

१० शैया क्षमता भएको गृहमा पर्सादेखि रौतहट, सर्लाही र भारतका समेत कुपोषित बालबालिका उपचारार्थ आउँछन् । हाल केन्द्रमा ६ जना कुपोषित बालबालिका आश्रित छन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully