रौतहट — रौतहटको गरुडामा प्रहरीले मंगलबार निजी कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । गाँजा बोकेको कारलाई रोक्न खोज्दा भागेपछि पिछा गर्ने क्रममा उक्त कार दुर्घटना भई पल्टिएको थियो । त्यसलगत्तै चालक फरार भए ।
गरुडा नगरपालिका–५ मा रहेको झाझ खोला नजिकै ग३च ६७९६ नम्बरको रातो रङको ब्रेजा कारबाट १३ पोकामा रहेको १३३ किलो गाँजा बरामद गरेको इलाका प्रहरी गरुडाका डीएसपी राजन कार्कीले जानकारी दिए ।
चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको कारलाई इलाका प्रहरी गरुडाअगाडि रोक्न खोज्दा भागेको थियो । त्यसपछि शंका लागेर प्रहरीले गाडीलाई पछयाउँदै जाने क्रममा झाझ खोला नजिक सडकभन्दा तल झन्डै २० फिट गहिरो खरघारीमा गाडी छाडेर चालक फरार भएको प्रहरीले जनाएको छ ।
