What you should know
पर्सा — विकास निर्माण कार्यले गति नलिएर आर्थिक गतिविधि चलायमान हुन नसकेको आरोप लागिरहँदा पर्सामा गत आर्थिक वर्षमा विकास बजेट ६६ प्रतिशत मात्र खर्च भएको छ । चालु बजेट भने ९५ प्रतिशत खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साको तथ्यांकअनुसार, गत आर्थिक वर्षमा जिल्लाको कुल विकास (पुँजीगत) बजेट २ अर्ब ७९ करोड ५० लाख ५३ हजार ७ सय ५० रुपैयाँ रहेकोमा बजेटको ६६ दशमलव २५ प्रतिशत अर्थात १ अर्ब ८५ करोड १६ लाख २९ हजार २ सय ४२ रुपैयाँ २५ पैसा मात्र खर्च भएको छ । चालु बजेट ११ अर्ब ८ करोड ६७ लाख ८ हजार १ सय ६१ रुपैयाँ रहेकोमा ९४ दशमलव ९३ प्रतिशत अर्थात १० अब ५२ करोड ४१ लाख १४ हजार ३ सय ८८ रुपैयाँ ७७ पैसा खर्च भएको छ ।
संघीय सरकारमातहतका विकास निर्माणसँग सम्बन्धित कार्यालयहरूले नै विकास बजेट खर्च गर्न सकेका छैनन् । सबैभन्दा धेरै विकास बजेट रहेको सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्जको १ अर्ब ३४ करोड ४१ लाख रुपैयाँ रहेकोमा कार्यालयले आधाभन्दा पनि कम ६२ करोड ४३ लाख रुपैयाँ मात्र खर्च गरेको छ ।
२९ करोड १५ लाख रुपैयाँ विकास बजेट रहेको हुलाकी राजमार्ग योजना कार्यालय वीरगन्जले २६ करोड ४१ लाख रुपैयाँ मात्र खर्च गरेको छ । ५० करोड २८ लाख रुपैयाँ विकास बजेट रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ४५ करोड ९७ लाख रुपैयाँ मात्र खर्च गरेको छ । १७ करोड ९ लाख रुपैयाँ विकास बजेट रहेको नारायणी सिँचाइ व्यवस्थापन डिभिजनले १५ करोड २६ लाख रुपैयाँ मात्र खर्च गरेको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका सूचना अधिकृत वसन्त गुरागाईं सबैभन्दा बढी विकास बजेट रहेको सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्जको बजेट आधाभन्दा कम खर्च भएकाले विकास बजेटको खर्च कम देखिन गएको बताउँछन् । ‘सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्जको अधिकांश विकास योजनाको टेन्डर लागतभन्दा कम लागेको थियो,’ उनले भने, ‘यसरी कम लागतमा विकास योजनाको टेन्डर सकार हुँदा विकास बजेट खर्च नभएको देखिए पनि राज्यको कोष भने बचत हुन गएको छ ।’
