तिलाबे खोलामा बेलिब्रिज निर्माणको योजना अलपत्र

श्रावण ४, २०८२

शंकर आचार्य

The plan to build a Beilibridge on the Tilabe River is stalled

What you should know

पर्सा — बेलिब्रिज निर्माणका लागि बजेट व्यवस्थापन नभएपछि गण्डक नहरको एप्रोच सडकस्थित तिलाबे खोलामा बेलिब्रिज निर्माण गर्ने योजना अलपत्र परेको छ । सडक विभागले गत आवमा यो बेलिब्रिज निर्माणका लागि टेन्डर आह्वान गरेको थियो ।

वीरगन्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सीमामा रहेको तिलाबे खोलामा बेलिब्रिज निर्माणका ३ करोड ३० लाख रुपैयाँको टेन्डर आह्वान गरेकोमा प्रतिस्पर्धामा ज्वाइन्ट भेन्चरको कम्पनी मेदान्त/महम्मद इस्लामले ३ करोड १७ लाख रुपैयाँमा ठेक्का सकारेको थियो । तर बेलिब्रिज निर्माणका लागि बजेटको सुनिश्चितता नभएपछि बेलिब्रिज निर्माणको योजना अनिश्चित भएको छ । 

नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका इन्जिनियर एवम् सूचना अधिकृत सुरेशप्रसाद साहले संघीय भौतिक पूर्वाधार मन्त्रालयबाट गत आवमा उक्त ब्रिजका लागि बजेट विनियोजनको कार्य नभएपछि ब्रिज निर्माणको कामले गति लिन नसकेको बताए । ‘कार्यालयले दिएको प्राविधिक डिजाइन अनुसार नै सडक विभागले बेलिब्रिजको टेन्डर आह्वान गरेको थियो,’ इन्जिनियर साहले भने, ‘ठेकेदार कम्पनीले बेलिब्रिज जडानको काम थाल्ने तयारी गरिरहेको थियो, तर अन्तिममा ब्रिजका लागि बजेट नै भएन ।’ 

नहरस्थित तिलाबे खोलाको आरसीसी पुल गत वर्ष असारमा आएको बाढीले क्षतिग्रस्त भएको थियो । पुलको पिलरमा क्षति पुगेपछि सम्भावित खतरालाई मध्यनजर गर्दै नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले पुलबाट आवागमनमा रोक लगाएको छ । तर पैदलयात्री, साइकल र मोटरसाइकल चालकले अझै पनि यो पुलको प्रयोग गर्दै आएका छन् । पुलको प्रयोगमा रोक नलगाएकाले दुर्घटनाको सम्भावना बढेको छ । यो पुलमा थप क्षति पुग्न गएमा गण्डक नहरको साइफनमा पनि क्षति पुगेर नहर प्रणाली नै पूर्ण रुपले अवरुद्ध हुने सम्भावना रहेको छ । 

The plan to build a Beilibridge on the Tilabe River is stalled

सन् १९७५ र ७६ मा दुई चरणमा भारतले निर्माण गरी नेपाल सरकारलाई गण्डक नहर र यससँग जोडिएका संरचना हस्तान्तरण गरेको थियो । पर्साको जानकी टोलाबाट नेपाल प्रवेश गर्ने र रौतहटको बागमतीमा गएर मिसिने नहरलाई पूर्वी नहर भनिन्छ । ८१ किमि लामो यो नहरले त्यति बेला पर्सा, बारा र रौतहट गरी ३ जिल्लाको ३१ हजार ४ सय हेक्टर जग्गालाई सिञ्चित गर्ने लक्ष्य थियो । 

नहरसँगै निर्माण गरिएको एप्रोच सडक र सो सडकमा रहेको पुल तीन वटै जिल्लाका बासिन्दाले हुलाकी सडकको विकल्पकको रुपमा प्रयोग गर्दै आएका छन् । संघीय सरकारले रौतहटदेखि पर्सासम्म नरहको एप्रोच सडक कालोपत्रे समेत गरिसकेको छ । तर, यस क्रममा जीर्ण पुलहरु मर्मत सम्भार वा तीनको स्थानमा नयाँ पुल भने निर्माण गरिएन् । सडक कालोपत्रे भइसकेपछि यो सडकको प्रयोग झनै बढेको छ । यसले गर्दा जीर्ण पुलहरुमा थप भार बढेको छ । तर अत्यधिक प्रयोग भएपछि एप्रोच सडकमा रहेका खोलाका पुलको सामान्य मर्मत सम्भार समेत नगरिदा सबै पुल जीर्ण भएका छन् । 

२०४६ साल अघिसम्म नहरको एप्रोच सडक कार्यालयले आफ्नो निजी प्रयोजनका लागि मात्र प्रयोग गर्दै आएकोमा त्यसपछिको राजनीतिक परिवर्तन पश्चात सर्वसाधारणको प्रयोगका लागि समेत यो सडक खुला गरिएको थियो । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully