वीरगन्ज कारागारमा पानीको चरम अभाव

श्रावण ४, २०८२

शंकर आचार्य

Severe shortage of water in Birganj Jail

What you should know

पर्सा — कैदीबन्दी भरिभराउ रहेको वीरगन्ज कारागारमा पानीको चरम अभाव भएको छ । कारागार परिसरमा रहेका २ गरी १० वटा चापाकलबाट एक महिनादेखि पानी आउन बन्द भएपछि कैदीबन्दीको दैनिकी नै प्रभावित भएको छ ।

कारागारका एक कैदीले पानीको अभावमा आफूहरुले एक महिनादेखि कष्टकर जीवन भोग्नु परेको बताए । ‘एक त कैदीबन्दीको भीड, त्यसमाथि अचाक्ली गर्मी,’ उनले भने, ‘बिहानदेखि बेलुकासम्म नुहाउन, खाना पकाउन, पिउन, लत्ताकपडा धुन, भाडावर्तन माझ्न हामीलाई पर्याप्त पानी चाहिन्छ । तर एक महिना यता पानीको चरम अभावले हाम्रो दैनिकी नै प्रभावित भएको छ ।’  

कारागारमा हाल १ हजार ३ सय ११ कैदीबन्दी रहेका छन् । कारागारका निमित्त जेलर रुपक मण्डलले कारागार परिसरमा रहेका २ वटा बोरिङबाट कारागारका कैदीबन्दी र सुरक्षाकर्मी तथा कर्मचारीसमेत गरी १ हजार ४ सय जनालाई पानीको आपूर्ति भइरहेको बताए । ‘कारागारभित्रका सबै चापाकल सुकेका छन्,’ उनले भने, ‘कारागार बाहिर रहेको दुई वटा बोरिङबाट कारागारभित्र र कारागार बाहिर समेत पानीको आपूर्ति गरेका छौं ।’ 

तत्काललाई पानीको अभाव टार्न वीरगन्ज महानगरपालिका र जिल्लाका अन्य पालिकाहरुलाई गुहारेको तर कतैबाट पानीको सहयोग नपाइएको उनले बताए । अहिलेको अवस्थामा थप २ वटा बोरिङ जडान गर्न आवश्यक रहेको उनको भनाइ छ । दुई बिघा क्षेत्रफलमा फैलिएको कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएको छ ।

*यसअघि यो समाचारमा फरक सन्दर्भ बुझाउने तस्बिर प्रकाशित भएकाले सच्याइएको छ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully