दुई क्विन्टल धान, दाबी ३ लाख ७२ हजार

श्रावण ३, २०८२

कमलेश ठाकुर

Two quintals of paddy, claim 3 lakh 72 thousand

What you should know

जनकपुरधाम — धनुषा गणेशमान चारनाथ नगरपालिका–८ का ५६ वर्षीय कुलदीप कुमर असार पहिलो सातादेखि निकै चिन्तित छन् । उनलाई खाना रुच्दैन, निद्रा पनि लाग्दैन । गरिब भएकै कारण जेल जानुपर्ने हो कि भनेर मनमा कुरा खेलाइरहन्छन् ।

कारण हो, जिल्ला अदालत धनुषामा परेको मुद्दा । 

उनले पाँच वर्षअघि दुई क्विन्टल धान लिएकामा साहुले ३ लाख ७२ हजार दाबीसहित लेनदेन मुद्दा हालेका छन् ।

‘केही गर्न मन लाग्दैनन् । न खाना रुच्छ, न काम गर्न मन लाग्छ,’ कुलदीपले भने, ‘दुई क्विन्टल धानका लागि जेल जानुपर्छ भन्ने कुरा मनमा खेलिरहन्छ ।’

कुलदीप निरक्षर छन् । उनी मात्र होइन श्रीमती आसवत्ती देवी पनि समान्य लेखपढ जान्दिनन् । ३० वर्षीय एक्लो छोरा तेजीकुमार दनुवार मजदुरीका लागि भारतमा छन् । 

पाँच वर्षअघि कुलदीपले दुई क्विन्टल धान गाउँकै साहु उमेश यादवसँग लिएका थिए । दुई महिनामा मजदुरी गरेर पैसा दिने मौखिक सहमति भएको थियो । तर, कुलदीप बिरामी परे । कामै गर्न सकेनन् । साहु उमेशले पैसाका लागि ताकेता गर्न थाले । ताकेता टार्न कुलदीप दम्पती तमसुक बनाउन राजी भए । ‘घरमा आएर धेरै ताकेता गर्थ्यो । तमसुक बनाउन भन्नुहुन्थ्यो,’ आसवत्तीले सुनाइन्, ‘सधैं घर आएर बेइज्जती गर्न थालेपछि तमसुक बनाएका थियौं ।’

उनका अनुसार साहुले त्यही समय मूल धनको तीन गुणा बढी बनाएर तमसुक गराएका रहेछन् । पहिलो तमसुक १६ हजारकै थियो । त्यसपछि ४८ हजारको तमसुक दबाब दिएर बनाउन लगाए । ‘अहिलेसम्म तीन वटा तमसुक बनायो । अढाई वर्षअघिको तमसुक अन्तिम हो,’ उनले सम्झिँदै भनिन्, ‘त्यतिबेला एक लाख मूल धन भयो भनेर हामीलाई भन्यो तर पनि तीन लाखको तमसुकमा अँगुठा छाप लियो ।’ 

Two quintals of paddy, claim 3 lakh 72 thousand

२०७९ फागुन १२ गते तीन लाख रुपैयाँको तमसुक बनाइएको छ । सोही तमसुकका आधारमा अहिले जिल्ला अदालत धनुषामा साहु उमेशले लेनदेन मुद्दा दिएका छन् । यो आधारमा यही ६ गतेसम्म तीन लाख ७२ हजार रुपैयाँ असुल गर्नुपर्ने साहु उमेशको दाबी छ ।

साहु उमेशले दुई क्विन्टल धानकै तीन लाख रुपैयाँ भएको स्वीकार गरे । धेरै दिन भएको र समयमा नदिएको कारण रकम बढी देखिएको उनको तर्क छ । आफू कानुनत: गलत भए अदालतले भन्नुपर्ने भन्दै उनी पन्छिन खोजे । सुरुको धान १६ हजार भए पनि नयाँ तीन लाख नै भएको उनले दाबी गरे ।

मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय महासचिव मनोज पासवानले मधेशमा सरकारी निकायको कमजोरीले कुलदीप दम्पतीले समस्या भोगेको बताए । ‘प्रशासनिक निकायले पीडितको कुरा नसुन्दा, नबुझ्दा समस्या देखिएको छ,’ उनले भने, ‘आन्दोलन भएपछि, सरकारको आलोचना भएपछि काम गरे जस्तो मात्रै गर्छन् । सरकार यस्ता मुद्दामा अझै गम्भीर हुनुपर्छ ।’

उनका अनुसार आशवतीजस्तै धेरै आम नागरिक ऋण लिएर घरव्यवहार चलाउँछन् । बिरामी पर्दा, भोजभतेर गर्दा, खेती किसानी गर्दा वा छोराछोरी पढाउन साहुकै आस पर्छन् । तर, साहुहरु आफ्नो पैसा सुरक्षित गर्न कानुनविपरीत तीन गुना बढाएर तमसुक बनाउँछन् । ऋणीको सम्पत्तीमा आँखा लगाउँछन् । कब्जा गर्न खोज्छन् । त्यस्तै चपेटामा कुलदीप र उनको श्रीमती आशवती परेको पासवान बताउँछन् । 

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully