खातुनको शंकास्पद मृत्यु : पोस्टमार्टम गृहबाटै शव लिएर भागे महिला समूह

श्रावण २, २०८२

विद्यानन्द राम

Suspicious death of Khatun: A group of women ran away with the dead body from the post-mortem house

What you should know

राजविराज — शंकास्पद मृत्यु भएकी सप्तरीको विष्णुपुर गाउँपालिका–१ थल्हीकी महिलाको शव गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको पोस्टमार्टम गृहबाटै बोकेर महिलाको एक समूह भागेका छन् ।

शुक्रबार दिउँसो ४५ वर्षीया मसुरन खातुन आफ्नो माइती जिल्लाको राजगढ गाउँपालिका–३ नर्घो पुगेकी थिइन् ।

दिउँसो बुवाको खेतमा गरिरहेकी खातुन अचानक बेहोस भएपछि उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा भर्ना गरिएको थियो । उपचारकै क्रममा खातुनको मृत्यु भएपछि शंका लागेर प्रहरीले उनको शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याएका थिए । तर, शव अस्पताल ल्याएको केही समयमै आएका महिलाको समूहले प्रहरीको अगाडिबाटै शव बोकेर भागेका हुन् ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.प्रकाश साहले समूहमा आएकी महिलाहरुले अस्पतालमा जबरजस्ती गरेर पोस्टमार्टम गृहबाट शव बोकेर भागेको बताए । ‘उनीहरुले जबरजस्ती गर्न थालेपछि हामीले प्रहरीलाई जानकारी गरायौं तर प्रहरीले पनि उनीहरुलाई रोक्न सकेनन्’, उनले भने ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले शव फिर्ता ल्याएर पोस्टमार्टम गराउन समन्वय भइरहेको बताए । ‘मृत्यु शंकास्पद देखिँदा अनुसन्धानका लागि हामीले शवको पोस्टमार्टम गर्न लागेको थियौं तर मृतकका आफन्तले नै कुरा नबुझेर त्यसो गरेका रैछ,’ उनले भने, ‘परिवारसँग समन्वय हुँदैछ, शव फिर्ता ल्याएर पोस्टमार्टम गराउँछौं ।’

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully