स्रोत नखुलेको रकमसहित भारतीय पक्राउ

श्रावण २, २०८२

शिव पुरी

Indian arrested with undisclosed amount of money

What you should know

रौतहट — रौतहट प्रहरीले गौर नगरपालिकाको सीमावर्ती क्षेत्रस्थित महादेवपटीबाट स्रोत खुल्न नसकेको रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिहीबार साँझ पक्राउ परेका भारतीयलाई शुक्रबार जिल्ला प्रहरीले सार्वजनिक गरेको छ । 

गौर–२ महादेवपटी टोलको बाटोमा जाँच गर्नेक्रममा प्रहरीले भारतबाट आउँदै गरेका पैदल यात्रुको शरीर खानतलासी गर्दा भारतको बैरगनिया नगरपंचायत १३ बाबालाल दास मठ टोलका ४३ वर्षीय महेशकुमारको तिघ्रामा ईलास्टिकले बेरेर ल्याउँदै गरेको ३ लाख रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरीका डीएसपी दिपककुमार रायले जानकारी दिए । ‘लुकाएर ल्याएको रकमबारे प्रमाण माग्दा महेशले दिन सकेनन्,’ उनले भने,‘त्यसपछि पक्राउ गरेर अनुसन्धान थालेका हौं ।’

प्रहरीले रकम र भारतीयलाई कारबाहीको लागि गौर भन्सार बुझाउन लागेको जनायो । बाहिरी देशबाट आर्जन गरेको रकम औपचारिक माध्यमबाट नपठाई एजेन्ट, निजी व्यापारी, व्यक्ति वा दर्ता नभएका एजेन्सीमार्फत नेपाल पठाउने वा नेपालबाट बाहिरी देशमा हुण्डीमार्फत पठाउने काम पछिल्लो समय सीमाक्षेत्रमा हृवात्तै बढेको छ ।

हुण्डी कारोबार गर्नेहरुले कुनै पनि देशको कानुनअनुसार रेमिट्यान्स कारोबारको स्वीकृति लिएका हुँदैनन् । भारतबाट नेपाली रुपैयाँ बोकाएर पठाउने भरियाहरु मात्र पक्राउ पर्ने गर्छन् । मुख्य व्यक्तिसम्म पुग्न नसकेको प्रहरीले स्विकारेको छ । 

जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले पक्राउ परेकाहरुले ज्यान गए पनि मुख्य मानिसको नाम भन्नै नखोज्ने बताए ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully