रौतहट — रौतहट रौतहट प्रहरीले लागुऔषध ओसारपसारको आरोपमा बुधबार राति दुईजनालाई पक्राउ गरेको छ । उनीहरुलाई बिहीबार जिल्ला प्रहरीले सार्वजनिक गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा वीरगन्ज र जिल्ला प्रहरी रौतहटका प्रहरी निरीक्षक रामकुमार महतोको टोलीले सूचनाको आधारमा गौर नगरपालिका–१ स्थित शुभम होटल अगाडि भारतीय बिआर ०५ यू ५८६० नम्बरको ग्लायमर मोटरसाइकल चढेर आएका राजदेवी–८ लक्ष्मीपुरका २३ वर्षीय नितेशकुमार पण्डित र ३२ वर्षीय पिन्टुकुमार यादवलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
नितेश र पिन्टुमाथि शंका लागेर जाँच गर्ने क्रममा कालो रङको प्लास्टिक झोलाभित्र लुकाई राखेको अवस्थामा लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपककुमार रायले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरुको साथबाट नाईट्रोभेट, नेटजेकेयर, डाईजोपाम, फेनारागन र ईन्जेक्सनहरु फेला पारेको छ ।
प्रहरीले बरामद गरेका औषधिहरु भारतमा मात्र पाइन्छ । नेपालमा प्रतिबन्धित हुन् । पक्राउ परेकाहरुको अनुसन्धान थालेको प्रहरीले जनायो । केही समय यता सीमाक्षेत्रमा लागुऔषधको ओसारपसार बढेको पाइएको छ ।
