What you should know
काठमाडौँ — करदाता सेवा कार्यालय बर्दिबासमा थप सेवासहित आन्तरिक राजस्व कार्यालयका रुपमा सञ्चालनमा आएको छ ।
महोत्तरीको बर्दिबास, गौशाला, धनुषाको मिथिला नगरपालिका क्षेत्रलाई करदाता सेवा पुर्याउँदै आएको कार्यालयले बिहीबारबाट आन्तरिक राजस्व कार्यालयका रुपमा आफ्नो सेवा सुरु गरेको हो । करदाता सेवा कार्यालय रहदाँ कर संकलन मात्र गर्दै आएको कार्यालयले आन्तरिक राजस्व कार्यालय बनेसँगै सेवा क्षेत्रमा कर परीक्षण, निरीक्षण र अनुसन्धनात्मक कार्य लगायतका सेवा दिने कार्यालय प्रमुख गेहेन्द्रप्रकाश गिरीले जानकारी दिए । यसअघि दुई जिल्लाका पालिकाले सेवा पाइरहेका भए पनि अब कार्यालयको कार्यक्षेत्रमा सर्लाही र सिन्धुलीसमेत थप भएको उनले बताए ।
सर्लाहीको हरिवन, लालबन्दी, मलङ्गवा, सिन्धुली, धनुषाको मिथिला र महोत्तरीको बर्दिबास, गौशाला लगायतका उद्योग वाणिज्य सङ्घका अध्यक्षहरुले आन्तरिक राजस्व कार्यालय स्थापनाले व्यवसायीलाई सहजता र हित हुने बताएका छन् । बर्दिवाससहित पायक पर्ने स्थानका व्यवसायी तथा सरोकारवालालाई सेवा सहजताका लागि गरिएको पहल सार्थक भएको भन्दै उद्योग वाणिज्य संघ बर्दिबासका अध्यक्ष विष्णुबहादुर खड्काले आगामी दिनमा कार्यालयले दिने सेवा पनि छिटोछरितो बनाउन आग्रह गरे ।
बर्दिबासको मुख्य बजार क्षेत्रमा भाडाको घरमा सञ्चालित कार्यालय हाल बर्दिबास १४ स्थित आफ्नै जग्गामा अत्याधुनिक सेवासुविधासहित भवन निर्माण गरिरहेको कार्यालयले जनाएको छ । आन्तरिक राजस्व कार्यालय जनकपुरधामका प्रमुख कर अधिकृत आनन्दकुमार गुप्ताले थप सेवा सहितका आन्तरिक राजस्व कार्यालयको उद्घाटन गरेसँगै बिही बारबाटै कार्यालय सञ्चालनमा आएको हो ।
