नवलपुरमा करेन्ट लागेर एकको मृत्यु, दुईजना घाइते

श्रावण १, २०८२

ओमप्रकाश ठाकुर

One dead, two injured due to electrocution in Nawalpur

सर्लाही — सर्लाहीको नवलपुरस्थित एक उद्योगमा बिहीबार बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । 

लालबन्दी नगरपालिका–१नवलपुरस्थित लखनदेही पुल नजिकै रहेको न्यु माँ राजदेवी खाद्य उद्योगमा रोकिराखेको ट्रकबाट त्रिपाल हटाउँदा करेन्ट लागेर रौतहट बृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रौतहटबाट धानको भुस लिन आएका ना. ६ ख ७५५० नम्बरको ट्रकमा त्रिपाल हटाउने क्रममा ट्रकको माथिल्लो भागमा ११ हजार भोल्टको विद्युत् तारमा छोइएपछि घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनापछि घाइतेरुलाई तत्कालै हरिवनस्थित नमुना अस्पताल पठाइएकोमा उपचारको क्रममा पासवानको मृत्यु भएको हो । मृतक पासवान ट्रकका सहचालक रहेको खुलेको छ । 

त्यस्तै, ट्रकमा काम गरिरहेका २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान करेन्ट लागेर घाइते भएका छन् । दुवैको हात र खुट्टामा चोट लागेको छ र अहिले उनीहरूको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।

ट्रकका चालक पर्सा, वीरगञ्ज महानगरपालिका–३० निवासी ३९ वर्षीय शेख लाल महमदसमेत उपचारमा संलग्न छन् भने ट्रक इलाका प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको छ ।

ओमप्रकाश

Link copied successfully