पर्सा — वीरगन्जमा बुधबार पर्जन्य अर्थात् पानीका देवताको आराधना यज्ञ गरिएको छ । असार सकिँदा पनि मनसुनी वर्षा नहुँदा पर्सा र बारामा काकाकुलको अवस्था छ । पानीको समस्या समाधान गर्न यहाँ यज्ञ गरिएको हो ।
बुधबार वीरगन्जस्थित प्रसिद्ध शक्तिपिठ गहवामाई मन्दिरबाहिर भिन्नै माहोल थियो । गहवा माई मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र साह, समितिका वरिष्ठ सदस्य एवं संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्य, समितिका महासचिव अधिवक्ता विजयकुमार उपाध्यायसहित पर्जन्य वृष्टि यज्ञमा हवन गरिरहेका थिए । समितिका कार्यालय सचिव शिवजीकुमार साहले बिहान ८ बजे सुरु भएको यज्ञ दिउँसो ३ बजे सकिएको बताए ।
वर्षौंदेखि अनवरत पानी आउने चापाकलहरूमा पानी सुक्न थालेको छ । खेतहरू बाँझै छन् । पानी नपर्दा गर्मी अचाक्ली बढेको छ । सर्वसाधारण मिनरल र जारको पानी किनेर खान बाध्य भएका छन् । वीरगन्ज–१३ तेजारथ टोल निवासी ५८ वर्षीय सुशील अर्यालले आफ्नो जीवनकालमा वीरगन्जमा यसरी खानेपानीको हाहाकार भएको पहिलो पटक अनुभव गरेको बताए । ‘हुन त यो समस्या ३ वर्षअघिदेखि नै देखिएको हो,’ उनले भने, ‘तर यस वर्ष अत्यधिक ठूलो रूपमा यो समस्या देखिएको छ ।’ 
जिल्ला सदरमुकाम वीरगन्जमा मात्र नभई जिल्लाका ग्रामीण भेगमा पनि यो समस्या देखिएको छ । छिमेकी बारा जिल्लामा पनि यो समस्या विकराल रूपमा देखा परेको स्थानीयले बताएका छन् ।
घरघरमा जोडिएका अधिकांश चापाकल सुकेका छन् । सहजै पानी आउने भनी खानेपानी संस्थानको धारा जडान गर्न महानगरबासीको भीड अहिले खानेपानी संस्थान वीरगन्ज शाखामा देखिन्छ । शाखा प्रमुख प्रवीनकुमार साहले १२ दिनयता मात्र नयाँ धारा जडानका लागि निवेदन दिनेको ताँती लागेको बताए ।
यस अवधिमा जम्मा ४ सय धाराको लाइन जोड्न सकिएको र ५ हजार मिटर पाइप जडान गरिएको उनले बताए । ‘२० दिनमा सेवाग्राहीको ३ हजार फोनकल र म्यासेज आएको छ,’ उनले भने ।
कार्यालयसँग हाल १ करार र ५ ज्यालादार जनशक्ति मात्र रहेको र यो जनशक्तिले दैनिक ३० देखि ३५ धारा जडानको काम गर्न सकेको उनले बताए । यसअघि मासिक २० देखि २५ धारा जडान हुने गरेकामा हाल दैनिक ३० देखि ३५ धारा जडान गरिएको उनले बताए ।
पानीको माग अत्यधिक भएको वीरगन्जको छपकैंया र राधेमाई क्षेत्रमा १ हजार धारा चोरी गरेर स्थानीयले प्रयोग गरिरहेको उनले बताए । वीरगन्ज महानगरपालिकाको कार्यालयले महानगरका विभिन्न वडामा स्थानीयको सुविधाका लागि धमाधम बोरिङ जडान गर्ने काम गरिरहेको छ । तर त्यो पर्याप्त छैन ।
संघीय खानेपानी मन्त्री प्रदीप यादवकै निर्वाचन क्षेत्र तथा जिल्लामा यो समस्या बढी देखिएकाले जिल्लाबासीले उनीबाट राहतको आशा गरेका छन् । उनी पनि वीरगन्ज आएर वडाहरूमा घरदैलो गरेर समस्या समाधानको प्रयास गरिरहेका छन् । तर त्यो पनि पर्याप्त छैन । खानेपानीको अभावले स्थानीयको दैनिकी र जनजीवन प्रभावित भएको छ । 
तराईमा पानीको छेलोखेलो गरेर हुर्के बढेकाहरू अब मिनिरल वाटर र जारको भर पर्नुपर्दा चिन्तित छन् । प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष सरदार जसपाल सिंह पानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न वृक्षारोपण तथा सिमसार क्षेत्रहरूको संरक्षणको विकल्प नरहेको बताउँछन् ।
