राजविराज — पर्याप्त वर्षा नहुँदा धान रोप्न समस्या हुन थालेपछि सप्तरीको राजगढ गाउँपालिकामा मुतनी नदीमा बाँध बाँधेर सिँचाइ गर्न थालिएको छ ।
सोमबार रातिदेखि छिटफुट वर्षा भइरहँदा पनि धान रोप्न प्रयाप्त सिँचाइ पुगेको छैन । रोपाइँमा समस्या भएपछि नदीमा बाँध लगाइदिन माग गर्दै २०/२५ जना किसान मंगलबार गाउँपालिका पुगेका थिए ।
गाउँपालिकाबाट खटाइएको जेसीबीको सहयोगमा वडा नम्बर ४ जमुवा टोल र ६ जगाइ टोलस्थित मंगलबार नै नदीमा बाँध बाँधिएको गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले बताए ।
‘अहिलेसम्म रोपाइँ भइहाल्नुपर्ने थियो तर सिँचाइ अभावले अधिकांश किसानले रोपाइँ गर्न सकेका छैनन्,’ उनले भने, ‘छिटफुट वर्षा त भइरहेको छ तर रोपाइँ गर्न पर्याप्त पानी पुगेको छैन, आवश्यक पर्ने पानी नदीबाट मोटर र पम्पिङ सेटले तानेर किसानले रोपाइँ गरिरहेका छन् ।’
उनकाअनुसार त्यसरी सिँचाइ गरेर जमूवा र जगाइ टोलका करिब ५० बिघामा रोपाइँ गर्न सकिनेछ । ‘अन्य स्थानमा पानी पुर्याउन नहर सफाइको कार्य पनि भइरहेको छ’, उनले भने ।
