सर्लाहीको कबिलासीमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

असार ३२, २०८२

ओमप्रकाश ठाकुर

A pedestrian died after being hit by a motorcycle in Kabilasi, Sarlahi

सर्लाही — नवलपुर–मलंगवा सडक अन्तर्गत कबिलासी नगरपालिका–१०, पिडार चोक नजिक बुधबार अपराह्न मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। मृतकको नाम थर अहिलेसम्म खुल्न सकेको छैन।

कबिलासीबाट मलंगवा तर्फ जाँदै गरेको प्रदेश २–०३–०१४ प १२१४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।

उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर डाक्टरले मृत घोषित गरेका छन्। अन्दाजी ५० वर्षको देखिने मृतकको नाम, थर र ठेगाना अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक कबिलासी नगरपालिका–८ का २२ वर्षीय रुपेश राय र पछाडि सवार उनकी श्रीमती २० वर्षीया पिंकी देवी राय सामान्य घाइते भएका छन्।

दुवै जनाको प्रहरीको निगरानीमा मलंगवा अस्पतालमै उपचार भइरहेको छ भने मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ। मृतकको पहिचान खुलाउने तथा दुर्घटना सम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ओमप्रकाश

Link copied successfully