सिरहा-माडर सडक : भुक्तानी लिने हतारमा गुणस्तरहीन काम, स्थानीयद्वारा विरोध 

असार ३१, २०८२

विनय आजाद

Siraha-Madar road: Poor quality work in rush to collect payment, protests by locals

सिरहा — सिरहा-माडर सडकअन्तर्गत माडर बजार क्षेत्रमा भइरहेको आरसीसी ढलान गुणस्तरहीन भएपछि स्थानीयले विरोध गरेका छन् । सरकारी निकायको मिलेमतोमै गुणस्तरहीन काम भइरहेको भन्दै स्थानीयले सडकमै टायर बालेर प्रदर्शन गरेका हुन् ।

सिरहा सदरमुकामदेखि माडरसम्म नाला, माटो, ग्राभेल र ६० मिटर आरसीसी ढलानको ठेक्का भगत ग्रुप अफ कन्स्ट्रक्सनले पाएको छ । कुल ६ करोड ५८ लाख ५३ हजार ८१० रुपैयाँको यो योजना सम्झौताअनुसार असार ३० गतेभित्र काम सक्नुपर्ने हो । 

तर, अहिलेसम्म करिब तीस प्रतिशत काम मात्रै भएको छ । यसअघि काममा सधैं ढिलाइ गरेको ठेकेदार अहिले भुक्तानी लिनका लागि हतार-हतारमा कमसल काम गरिरहेको सिरहा नगरपालिका १७ का वडाध्यक्ष उमेश प्रसाद यादवको आरोप छ ।

Siraha-Madar road: Poor quality work in rush to collect payment, protests by localsआरसीसी सडक निर्माण गर्दा सिमेन्ट, बालुवा र गुट्टीको अनुपात ठेकेदारले नमिलाएको उनले बताए । जसका कारण निर्माण गरिएको सडकलाई लट्ठीले उखेल्दा पनि उप्किने गरेको स्थानीय रामकुमार यादवको भनाइ छ ।

तर, निर्माण कम्पनीका प्रमुख दिपेन्द्र भगतले भने अहिले कमसल देखिए पनि त्यसमा धेरै काम गर्न बाँकी रहेको र आवश्यक केमिकल दिएर सडक राम्रो बनाउने बताए । सडक डिभिजन लहानका प्रमुख आशुतोष कर्णले यस विषयमा आफूले बुझिरहेको प्रतिक्रिया दिए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully