राजविराज — दिगो सहरी विकासलाई प्रवर्द्धन गर्न नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना (एनयूजीआईपी) अन्तर्गत सप्तरीको राजविराज नगरपालिकामा भइरहेको सडक स्तरोन्नति कार्यको म्याद मंगलबार सकिएको छ । तर, अहिलेसम्म ६० प्रतिशत मात्रै सडक स्तरोन्नतिको काम भएको छ ।
विश्व बैंकको सहायतामा एनयूजीआईपीले नालासहितका सडक स्तरोन्नति गर्न राजविराज नगरपालिकालाई ३३ करोड ९० लाख ७८ हजार ६ सय ९३ रुपैयाँ दिएको थियो । नगरपालिकाले २०८१ असार ५ मा सो कार्य गर्न भारतको एनएनटी डेभलोपर्स प्रालि, पटनासँग सम्झौता गरेको थियो भने निर्माण कम्पनीलाई २०८२ असार ३१ सम्ममा सडक स्तरोन्नति कार्य सम्पन्न गर्न समय तोकेको थियो । तर, मंगलबार म्याद सकिंदा करिब ६० प्रतिशत मात्रै सडक स्तरोन्नतिको काम भएको छ ।
नगरपालिकाका इन्जिनियर अशोककुमार दासका अनुसार आवश्यक देखिने स्थानमा नालासहित कूल १४.२ किलोमिटर सडक स्तरोन्नति गर्नुपर्नेछ । तर अहिलेसम्म ३ किलोमिटर मात्रै सडक स्तरोन्नति गरी कालोपत्र गर्न सकिएको छ । निर्माण कम्पनीले अव्यवस्थित कार्य गरिरहँदा पनि नगरपालिकाले ध्यान दिन सकेको छैन । म्याद सकिन लागेपछि केही दिनदेखि सूचना पाटी छोपेरै सडक स्तरोन्नतिको कार्य भइरहेको थियो ।
इन्जिनियर दासले म्याद थपका लागि प्रक्रिया थालेको बताए । एनयूजीआईपीका अनुसार नगरपालिकाका तर्फबाट इन्जिनियर दास फोकल पर्सन हुन् । तर, उनको करार थप्ने विषयमा विवाद भइरहँदा दासले तीन महिनादेखि तलब खान पाएका छैनन् । ‘म्याद थपका लागि प्रक्रिया थालिसकेका छौं तर तीन महिनादेखि तलबै नपाउँदा चाहेअनुसार कार्य गर्न सकिएन,’ उनले भने, ‘थप नगरपालिकामा बुझ्नुहोला ।’
नगरपालिकाका सूचना अधिकारी सरेशकुमार यादवसँग सूचना नै छैन । ‘एउटा निवेदन मेल गरिदिनू न, म प्राविधिकसँग बुझेर जानकारी गराउँछु,’ उनले भने । सो विषयमा प्रमुख प्रशासकीय अधिकृत हरिकिशोरप्रसाद चन्द्रवंशीसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
एनयूजीआईपीकी सूचना अधिकारी संगीता बरालले म्याद थपिएको विषयमा अहिलेसम्म औपचारिक पत्र प्राप्त नभएको बताइन् । ‘म्याद त्यतैबाट थप गर्ने हो र हामीलाई पत्रमार्फत जानकारी आउँछ तर अहिलेसम्म जानकारी गराएको छैन,’ उनले भनिन् ।
