रौतहट — रौतहटको मौलापुरमा मंगलबार करेन्ट लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ । खेतमा रोपाइँ गर्न विद्युतीय मोटरले पानी तान्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गौरका डीएसपी दिपककुमार रायका अनुसार विद्युतीय मोटरबाट खेतमा पानी सिंचाइ गर्ने क्रममा अचानक करेन्ट लागेर मौलापुर–८ सोनरनियाका सुधन राउतका १४ वर्षीय छोरा नरेन्द्र राउतको मृत्यु भएको हो । ‘पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा अचानक करेन्ट लागेर नरेन्द्र गम्भीर घाइते भएका थिए,’ उनले भने, ‘घाइतेलाई तत्कालै उपचारको लागि मौलापुरस्थित शान्ति पोलिक्लिनिक लगिएको हो । उपचारको क्रममा बालकको मृत्यु भयो ।’
घटनाबारे अनुसन्धान भइरहेको डीएसपी रायले बताए । जिल्लाभित्र विभिन्न स्थानमा करेन्ट लागेर मानिसको मृत्युको घटना बढेपछि जिल्ला प्रहरीले सतर्कता अपनाउन आग्रह गरेको छ ।
