पर्सा — औषधि व्यवस्था विभाग वीरगन्ज शाखाले असार महिनामा मातहतका जिल्लामध्ये ७ जिल्लाका औषधि पसलहरूको अनुगमन गर्दा ८२ वटा पसलमा कैफियत पाइएको छ ।
कार्यालयका प्रमुख शम्भु साहका अनुसार यस अवधिमा कार्यालयका कर्मचारी टोलीले बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिन्धुली, मकवानपुर र चितवनसहित ७ जिल्लाका १ सय १३ वटा औषधि पसलको अनुगमन गरेको थियो । तीमध्ये ८२ वटा औषधि पसलमा कुनै न कुनै कैफियत पाइएको थियो ।
अनुगमनको क्रममा १३ वटा औषधि पसल बिना दर्ता सञ्चालित, ८ वटा पसल औषधि व्यवस्था विभागमा दर्ता नभएको, १२ वटा पसल व्यवसायी/फार्मासिस्ट अनुपस्थित भई सञ्चालित भेटिएका छन् ।
त्यसैगरी, ९ वटा औषधि पसलमा लागू तथा मनोद्दीपक औषधिको रेकर्ड दुरुस्त नभएको, १५ वटा औषधि पसलमा रेफ्रिजेरेटरमा राख्नुपर्ने औषधि रेफ्रिजेरेटरबाहिर राखिएको वा पसल बन्द गर्दा रेफ्रिजेरेटर बन्द गरिएको पाइएको छ । ग्राहकलाई बिल/बिजक नदिने तथा अन्य प्राविधिक समस्या भएका २५ वटा औषधि पसललाई सचेत गराइएको छ ।
कैफियत भेटिएकामध्ये बिनादर्ता सञ्चालनमा रहेका १३ मध्ये ३ वटा औषधि पसल दर्ता प्रक्रियामा आएका छन् । त्यस्तै, कैफियत जनाइएका ८२ मध्ये ३४ वटा पसलले आ–आफ्ना गल्तीहरू सुधार गरेका छन् । तीमध्ये १ वटा औषधि पसलमाथि औषधि ऐन २०३५ अनुसार मुद्दा दायर गरिएको प्रमुख साहले बताए ।
साहका अनुसार असार महिनामै रौतहटको राजपुर नगरपालिकाका औषधि पसलहरूको पनि अनुगमन गरिएको थियो । तीमध्ये त्यहाँका ३ वटा औषधि पसल दर्ता प्रक्रियामा आउन तयार भएका छन् । राजपुर–४ मा जेठ ५ गते औषधि व्यवस्था विभाग वीरगन्ज शाखाको टोली अनुगमनमा जाँदा स्थानीयको प्रतिकार पनि भोग्नुपरेको थियो ।
असार महिनामा अनुगमनको क्रममा बारामा ३, सर्लाहीमा १६, महोत्तरीमा २४, धनुषामा २२, सिन्धुलीमा १८, मकवानपुरमा १८ र चितवनमा १२ वटा औषधि पसलको अनुगमन गरिएको थियो । मधेस प्रदेशका सप्तरी र सिरहा बाहेक ६ जिल्ला तथा बागमती प्रदेशका चितवन, मकवानपुर र सिन्धुली गरी ९ जिल्ला यो शाखाको कार्यक्षेत्रमा पर्छन् ।
शाखाका अनुसार हाल कार्यक्षेत्रभित्र ५ हजार ८ सय ६५ वटा औषधि पसल दर्ता छन् । तीमध्ये एलोपेथिक, आयुर्वेदिक, युनानी र भेटेरिनरी औषधि पसलसमेत रहेका छन् ।
