सर्लाही — सर्लाहीको ईश्वरपुरमा सोमबार पिकअप र मोटरसाइकल ठोक्किँदा पाँच जना घाइते भएका छन् । ठोक्किएपछि आगलागी हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
ईश्वरपुर नगरपालिका–१२ र १३ नं. वडाको सीमामा रहेको रेल्वे ट्र्याक नजिकै श्रीनगरबाट बाँकेतर्फ जाँदै गरेको प्रदेश ०३–०२८प २१९१ नम्बरको मोटरसाइकल र बयलबासबाट महोत्तरीतर्फ जाँदै गरेको बा ८च ६५ नम्बरको पिकअप एकआपसमा ठोक्किएका हुन् । ठोक्किएपछि दुवै सवारी साधनमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ ।
आगलागीमा परेर मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको छ भने पिकअपको अगाडिको भाग जलेको छ । दुर्घटनापछि आगलागीमा परेका मोटरसाइकल चालक ईश्वरपुर–१५ का २३ वर्षीय चन्द्रदेव धामी गम्भीर घाइते भएका छन् । उनको शरीरको ८५ प्रतिशत भाग जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका प्रशेस चौधरी र अमित चौधरीको हातखुट्टामा चोट लागेको छ । दुवैको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ । त्यस्तै, पिकअपका चालक हरिवन नगरपालिका–३ का रामएकबाल महतो तथा पिकअपमा पछाडि सवार हरिवन–२ का लेखनाथ उपाध्यायको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ ।
घाइते सबैको उपचार मोडल अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
