राजविराज — सप्तरीको विष्णुपुर गाउँपालिकाका कर्मचारी र उपभोक्ता समितिले मिलेमतो गरी कामभन्दा बढी भुक्तानी लिएको प्रकरणमा रातारात थप सडक ढलान कार्य गरिएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा ‘तराई मधेश समृद्धि, बस्ती विकास कार्यक्रम’ अन्तर्गत संघीय सरकारबाट पाएको अनुदानबाट ५५ लाखभन्दा बढी रकम खर्च गरेर भारतीय ‘कोशी कोलोनी’मा सडक ढलान गरेको हो ।कानुनविपरीत गरिएको ढलान कार्यको विषयमा ‘कान्तिपुर’ ले समाचार सार्वजनिक गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको थियो । अख्तियारले सो योजनाको सम्पूर्ण कागजात माग गर्दै गाउँपालिकामा पत्राचार गरेपछि फस्ने डरले कर्मचारी र उपभोक्ता समितिले शनिबार राति नै ढलान कार्य गराएको हो ।
उनीहरुले गाउँपालिकाको शिलालेखसमेत हटाइसकेका छन् । मिलेमतोमा बजेट सिध्याउन सडक ढलान गरिएको वडाध्यक्ष परमानन्द यादवले बताए । ‘त्यो कोलोनी भारतको अधिनमा छ । त्यहाँ कानुनअसार काम गर्नै मिल्दैन,’ उनले भने, ‘तर, मिलेमतोमा कानुनविपरीत गर्दा पनि काम थोरै र भुक्तानी बढी लिएका छन्, अब फस्ने भएपछि राति थप ढलान गरेको हो ।’
वडा नम्बर ६ मा ढलान कार्य गर्न शनिबार साँझ तयारी भइरहँदा सोही वडाका वडाध्यक्ष यादवले विरोध जनाउँदै निर्माण कार्य रोकेका थिए । तर, उनीहरुले जबरजस्ती मध्यरातमा ढलान गराएको वडाध्यक्ष यादवको भनाइ छ । ‘ढलान कार्य रोकाउन सहयोग गरिदिन सीडीओदेखि सबैतिर सहयोग मागेँ तर पाइनँ,’ उनले भने, ‘भिडियो अख्तियारसम्मै पठाइसकेको छु ।’
ढलानबारे बुझेर जानकारी गराउने भन्दै शनिबार साँझ नै मोबाइल ‘स्विच अफ’ गरेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्जवल आनन्द अझै सम्पर्कमा आएका छैनन् । प्रमुख जिल्ला अधिकारी भोला दाहालले थप बुझ्ने कार्य भइरहेको बताए ।
२०११ वैशाख १२ मा भएको कोशी सम्झौताअनुसार भारतले पश्चिमी कोशी नहरसहितका गरी कुल ५ सय ९९ बिघा १८ कठ्ठा ८ धुर जग्गा अधिग्रहण गरेको छ । सोही जग्गामा कर्मचारीका लागि भारतले बनाएको ‘कोलोनी’मा गाउँपालिकाले ४ सय ५० मिटरमा सडक ढलान गरेको भनी ५५ लाख ८२ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
