पर्सा — संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मधेश प्रदेशमा मृगौला रोगको भयावह अवस्था रहेकाले यसै प्रदेशमा विशिष्टीकृत सेवासहितको मृगौला उपचार सेवा केन्द्र स्थापना गर्ने गृहकार्य सरकारले गरेको बताएका छन् ।
वीरगन्जस्थित नारायणी अस्पतालमा आइतबार म्यामोग्राम र निःसन्तान उपचारका लागि सेवा विस्तार गरिएको आईयूआई युनिटको समुद्घाट्न समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
‘नेपाल सरकारले हाल १३ हजार मृगौला रोगीलाई डायलासिस उपचार सेवा दिइरहेको छ, तीमध्ये साढे ८ हजार वैदेशिक रोजगारीबाट फर्किएकाहरू हुन्,’ उनले भने, ‘४ हजार मृगौला रोगी मधेश प्रदेशकै छन्, त्यस कारण पनि यही प्रदेशमा विशिष्टीकृत सेवासहितको मृगौला उपचार सेवा प्रदान गर्ने गरी मृगौला उपचार केन्द्र खोल्ने निश्चित भइसकेको छ ।’
उक्त केन्द्र निर्माणको कार्यलाई यस वर्ष योजनामै राखेर बजेट विनियोजनसमेत गरिसकिएको उनले बताए । ‘दुर्गानन्द झा मृगौला उपचार केन्द्र’ नामकरण गरी उक्त केन्द्र स्थापना गर्ने तयारी भएको उनले बताए ।
नारायणी अस्पतालमै मुटु रोगीका लागि क्याथ ल्याब सन्चालन गर्न पनि उनले अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । आइतबारदेखि सन्चालनमा आएको म्यायोग्राम सेवाबाट स्तन क्यान्सर रोगीको उपचार वीरगन्जमै सम्भव भएको बताउँदै उनले मधेशका मुटु, मृगौला र क्यान्सर रोगीले उपचार गर्न अन्यन्त्र जान नपरोस् भन्ने उद्देश्यले संघीय सरकारले सबै रोगको विश्वसनीय उपचार सेवा यसै प्रदेशका सन्चालन गर्न लागिपरेको बताए ।
५ वर्षदेखि कानुनी झमेलाका कारण अड्किएको नारायणी अस्पतालको अत्याधुनिक ८ तले भवनको निर्माण कार्य अविलम्ब सुरु हुने वातावरण बन्दै गएको बताउँदै मन्त्री पौडेलले नारायणी अस्पताल विकास समितिलाई कर्मचारी भर्ती केन्द्र नबायन निर्देशन पनि दिए । उनले वीरगन्जको नारायणी अस्पताल मन्त्री र यहाँका कर्मचारीले मात्र सुधार्न नसक्ने बताउँदै यसलाई सुधार्ने जिम्मेवारी यहाँकै नागरिक समाज, राजनैतिक दलका कार्यकर्ता, सन्चारकर्मीसमेतमा रहेको बताए ।
नारायणी अस्पतालका मेसु डा चुमनलाल दासले आइतबारदेखि सन्चालनमा आएको म्यामोग्राम र आइयूआई युनिट उपचार सेवा मधेश प्रदेशको सरकारी अस्पतालमा पहिलो रहेको बताए । उनले अस्पतालमा अन्य विशिष्ट सेवा सन्चालन गर्ने तयारी रहे पनि पूर्वाधार अभावले त्यो सम्भव हुन नसकिरहेको बताए ।
