मधेशमा बजेट विवाद : कार्यदल संयोजकबाट सभामुखको राजीनामा, प्रदेशसभा बैठक स्थगित

असार २८, २०८२

कमलेश ठाकुर

Budget dispute in Madhesh: Speaker's resignation from task force coordinator, state assembly meeting postponed

काठमाडौँ — मधेश प्रदेशसभा बैठक पुन: स्थगित भएको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्ष दलले विरोध गरेपछि छैटौं दिन पनि स्थगित भएको हो । 

बैठक सुरु भएपछि माओवादी नेता युवराज भट्टराईले आगामी आर्थिक वर्षको बजेटमा देखिएको त्रुटि सच्याउन बनाएको कार्यदल गठनमा असहमति जनाएर विरोध गरेका थिए । मुख्यमन्त्री सतीशकुमार सिंहले प्रतिबद्धता दिएअनुसार कार्यदल गठन नभएको उनको भनाइ छ । छानबिन कार्यदलमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको नाम राखेपछि विवाद हुँदै आएको छ । कार्यदलबाट मन्त्रीको नाम नहटाएसम्म अवरोध जारी राख्ने ६ वटा प्रतिपक्ष दलले बताउँदै आएका छन् ।

सभामुख रामचन्द्र मण्डलले कार्यदलमा मन्त्रीको नाम आएको अभ्यास नयाँ आएको र सरकारलाई अल्पमतमा राखेर कार्यदल गठन हुने अभ्यास पनि नयाँ रहेको बताए । कार्यदलको समय पनि नरहेको भन्दै उनले संयोजक पदबाट राजीनामा दिएका छन् ।

आर्थिक विधेयक पूरा हुन दिन र विनियोजन विधेयकमा आपत्ति भए त्यसमा विरोध जनाउन सभामुखले आग्रह गर्दै राजस्व तथा आय व्ययमाथि छलफल नगरी सिधै अर्थमन्त्री सुनिलकुमार यादवलाई जवाफ दिन समय दिएका थिए । रोष्ट्रम घेराउ गरेर बैठक सञ्चालन गर्न खोजेपछि पनि प्रतिपक्ष दलका सांसदले विरोध गरेका थिए । त्यसपछि सभामुख मण्डलले बैठक १० मिनेटको लागि स्थगित गरेका थिए ।

कार्यदलका सदस्यहरुमा जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव, माओवादी सांसद जवाहरलाल कुशवाहा, नेकपा एसका प्रमुख सचेतक कनिष पटेल, सत्तापक्षबाट एमालेका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव र नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण यादव रहेका छन् ।

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully