मधेश सरकारको खर्च अहिलेसम्मकै उच्च

असार २६, २०८२

कमलेश ठाकुर

The Madhesh government's expenditure is the highest ever

जनकपुरधाम — मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा ७१ प्रतिशत बजेट खर्च गरेको छ । बुधबार (भुक्तानी हुने अन्तिम दिन) सम्म चालु आर्थिक २०८१/०८२ मा मधेश सरकारले अहिलेसम्मकै सबैभन्दा बढी रकम खर्च गरेको हो । 

गतवर्षको तुल्नामा यो रकम करिब १४ दशमलव २८ प्रतिशतले बढी हो । मधेश सरकारले गतवर्ष ५५ दशमलव ७५ प्रतिशत मात्र खर्च गर्न सकेको थियो ।

अन्तिम भुक्तानी अवधि असार २५ गते रातिसम्म चालु र पुँजीगत गरी ७१ दशमलव ४८ प्रतिशत बजेट खर्च भएको मधेश सरकारको अर्थ सचिव रामकुमार महतोले जानकारी दिए । 

मधेश सरकारले चालु आर्थिक वर्षका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको थियो । पुँजीगत र चालु गरी ३१ अर्ब ३७ करोड ५२ लाख ४३ हजार बजेट खर्च भएको सचिव महतोले बताए ।

उनका अनुसार पुँजीगततर्फ २८ अर्ब ६१ करोड २० लाख ७४ हजार बजेट रहेकोमा २१ अर्ब ४९ करोड ७९ लाख ३१ हजार खर्च भएको छ । यो पुँजीगत बजेटको कुल ७५ दशमलव ६४ प्रतिशत हो । 

यस्तै चालुतर्फ १५ अर्ब २८ करोड ९६ हजार बजेट रहेकोमा ९ अर्ब ८७ करोड ७३ लाख १२ हजार खर्च भएको छ । यो कुल चालु खर्चको ६४ दशमलव ६४ प्रतिशत हो । मधेश प्रदेश सरकारको यो खर्च विगतका आर्थिक वर्षको तुलनामा अहिलेसम्मकै उच्च हो ।

यस चालु आर्थिक वर्षमा २८ दशमलव ५२ प्रतिशत बजेट मात्र फ्रिज भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा ५५ दशमलव ७५ प्रतिशत र आर्थिक वर्ष ०७९/०८० मा ५७ दशमलव ४२ प्रतिशत खर्च गरेका थिए ।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully