स्थानीयले सहयोग जुटाएरै बनाए प्रहरी चौकी

'अपराध नियन्त्रण र शान्ति सुरक्षाका लागि समुदायको सहयोग अपरिहार्य'

असार २५, २०८२

विनय आजाद

The police station was built with the help of the locals

सिरहा — सिरहाको लहान नगरपालिका-१३ पक्कीटोलस्थित अस्थायी प्रहरी पोस्टको नयाँ कार्यालय भवन उद्घाटन भएको छ ।

लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरी र मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले बुधबार भवनको उद्घाटन गरेका हुन् ।

प्रहरी कार्यालयको यो भवन स्थानीयहरूले आफैँ, नगरपालिका तथा विभिन्न संघ संस्थाबाट सहयोग जुटाएर प्रहरी कार्यालयको भवन निर्माण गरेका हुन् । सुरक्षाको दृष्टिले संवेदनशील मानिने यस प्रहरी पोस्टमा सहायक निरीक्षकको कमान्डमा ७ जना प्रहरी हुन्छन् ।

नयाँ भवनबाट प्रहरी सेवा अझ प्रभावकारी ढंगले प्रवाह हुने विश्वास डीआईजी चतुर्वेदीले व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपराध नियन्त्रण र शान्ति सुरक्षाका लागि प्रहरी कटिबद्ध रहेकोे भन्दै यसमा समुदायको सहयोग अपरिहार्य रहेको उल्लेख गरे ।

लहानका मेयर चौधरीले पक्कीटोलका बासिन्दा आफैँ अग्रसर भएर प्रहरी भवन निर्माण गर्नु उदाहरणीय काम भएको बताए । प्रहरी जनताको सुरक्षाका लागि अहोरात्र खट्ने संस्था भएकोले यसलाई सबैले माया गर्नुपर्ने उनले बताए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully